२५ जेठ २०८३, सोमबार

डढेलोले वन जल्यो, नरकुमारीको मन : भन्छिन्-​ गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ

बैशाख १९, २०८१
खोटाङ
डढेलोले वन जल्यो, नरकुमारीको मन : भन्छिन्-​ गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ

केदार मगर/रासस

तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन् । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन् ।

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन । धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन् । ​​

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढ्छन् ।

भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् । 

पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताइन् । 'एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो । दिक्तेल बजारमा सालको पात प्रति मुठा रु ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जङ्गल सखाप पार्‍यो', उनले भनिन्, 'सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ । डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।'

त्यसो त रावाबेँसी गाउँपालिका ३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् । 

गङ्गालाल हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ । छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ ।

शुरूमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौं भर्ना गरिएको थियो ।

उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो । 'जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ । अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौं लग्यौं, उपचारमा रु १६ लाख सकियो,' उनले भनिन्, 'काठमाडौंको तीन/चार वटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन । सबै ऋण काढेर उपचार गर्‍यौं, छोरा अलि ठीक भएपछि घर फर्कायौं ।'

छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशु चौपाया लग्यो । ऋण तिर्न विदेश जानुभएका श्रीमान् दुर्घटनामा परी उतै घाइते हुनुभयो । घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।​

नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन् । ‘स्काफोल्डिङ’को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते बनेका हुन् ।

काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्षसम्म अस्पताल बसेर उपचार गराएका दानबहादुरले अहिले सामान्य हिँडडुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ । 

'कमाउन विदेश जानुभएका श्रीमान् बिरामी हुनुहुन्छ । कलकलाउँदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबु पनि ठीक हुँदैछ', गहभरी आँसु पार्दै उनले भनिन्, 'बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न  धौ-धौ छ । सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो ।'

छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ ।

कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्