२५ असार २०८३, बिहीबार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

बैशाख २१, २०८१
काठमाडौं
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको शुभकामना सन्देशमा यस्तो आग्रह गरिएको हो ।

संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानूनहरूले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आयोगले आग्रह गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, 'प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध हुन्छ, नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मी पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ ।'

नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी भौतिक रुपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको, समाचार लेखेकै आधारमा सञ्चारकर्मी पक्राउ पर्ने गरेको देखिन्छ ।

सञ्चारकर्मीप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीको कार्यप्रति नै प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रुपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा सामाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रुपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरू प्राप्त भएका छन् ।

मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको मिडिया काउन्सिल विधेयक संसदबाट अझै पारित हुनसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्