
काठमाडौं, ३० असोज — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो सेनालाई भार पारेर उत्तर कोरियाविरुद्धको युद्धमा धकेलेको एक पूर्वजनरलले बताएका छन् ।

एनबीसी टीभीलाई अन्तर्वार्ता दिँदै जनरल ब्यारी मक्काफ्रीले यो कुरा बताएका हुन् । कोरियाली प्रायद्वीपको संकट गहिरिँदै जाँदा उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिका र उसका साझेदार मुलुकहरूलाई चेतावनी दिँदै आएका छन् ।
‘मैले केही भन्नैपर्ने हुन्छ । मलाई लाग्छ, राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायमा लगभग सबै विश्वसनीयता गुमाइसकेका छन् । उनीहरू ट्रम्प कहिले बाहिरिन्छन् भनी कुरिबसेका छन् । त्यसैले म उनले कति क्षति पु–याउँदैछन् भनी बढाइचढाइ गर्न चाहन्नँ,’ मक्काफ्रीले भने ।
‘समस्या त के भने हामी अहिले थुप्रै संकटहरूको समाना गरिरहेका छौं । त्यसले गर्दा अमेरिकी कूटनीतिज्ञ र सेना दुवैलाई अत्यधिक भार परेको छ । हामीले उत्तर कोरियाबाट आँखा हटाउनै सक्दैनौं । ट्रम्प प्रशासनको अहिलेको भाषा अनि उसले कूटनीतिक रूपमा इन्गेज हुने रणनीति नबनाएको देख्दा हामी अर्को ग्रीष्म ऋतुमा युद्धतर्फ धकेलिँदैछौं जस्तो लाग्छ,’ मक्काफ्रीले थपे ।
अर्को गर्मी भनेको सन् २०१८ को मध्य हो ।
यसैबीच उत्तर कोरियाले आइतवार अस्ट्रेलियालाई समेत चेतावनी दिएको छ । अमेरिकासँग लागेर अस्ट्रेलियाले खतरनाक गल्ती गरेको उसले बतायो ।
‘हालै अस्ट्रलियाले उत्तर कोरियाविरुद्ध अमेरिकाको राजनीतिक तथा सैन्य उत्तेजनालाई साथ दिएर खतरनाक कदम चालेको छ,’ उत्तरको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले लेख्यो ।
‘अस्ट्रेलियाले उत्तर कोरियामाथि सैन्य, आर्थिक र कूटनीतिक दबाब दिने अमेरिकी नीतिलाई पछ्याइरहने हो भने हाम्रो निरन्तर चेतावनीका बाबजुद उनीहरू संकट टार्न नसक्ने स्थितिमा पुग्नेछन्,’ उसले थप्यो ।
एजेन्सी