
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले देशमा कुनै खालको आर्थिक मन्दी नरहेको बताएका छन् ।
आठौँ वार्षिकोत्सवका अवसरमा लोकान्तरले आयोजना गरेको आर्थिक बहसका क्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले देशमा मन्दी नरहेको बताएका हुन् ।
'अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन्,' उनले भने, 'हाम्रो चालू खाता बचतमा छ । विदेशी मुद्रा सञ्चिती झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।'
उनले भुइँचालो, कोभिड जस्तो अवस्थामा पनि बैंकिङ्ग क्षेत्रमा धेरै समस्या नआएको बताए । 'त्यस्तो अप्ठेरो अवस्थालाई पनि बैंकिङ्ग क्षेत्रले धान्दै आएको छ,' उनले भने, 'अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या छैन ।'
उनले नेपालको अर्थतन्त्रको आधारशिला एकदम राम्रो रहेको बताए । 'अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,' उनले भने, 'हुनसक्छ कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुनसक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँ आएका हौँ ।'
उनले अहिलेको अवस्थामा माग घटेको अवस्था रहेको बताए । 'अवस्था के हो भने अहिले डिमाण्ड घटेको अवस्था हो,' उनले भने, 'अहिले कोभिड भन्दा अगाडिको जति आयात छ, त्यति नै छ । डिमाण्ड घटेको हो भने आयात पनि घट्नुपर्ने, त्यो पनि देखिन्न ।'
उनले निर्माणसँग सम्बन्धित उद्योगलाई भने केही समस्या परेको बताए ।