
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो ३ वर्ष देश अनावश्यक र अनुचित ढंगले सञ्चालन भएको आरोप लगाएका छन् ।
लोकान्तरको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसका क्रममा अध्यक्ष ओलीले अहिले भने देशले सकारात्मक दिशा लिएको बताए ।
'लगभग ३ वर्ष अनावश्यक र अनुचित ढंगले देशको सञ्चालन भयो, त्यसको तरिका सही र उपयुक्त नहुनाले नै अर्थतन्त्र बिग्रेको हो,' उनले भने ।
अहिलेको आर्थिक मन्दी कोभिड या नाकाबन्दी देखाएर समाधान नहुने उनले बताए । 'अहिले त्यतिबेलाको अपजस लगाएर यतिबेला हुँदैन,' उनले भने, 'नाकाबन्दी एक समयमा थियो, अहिले त्यसको नाम लिएर हुँदैन ।'
उनले मुलुकको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको र अर्थतन्त्र पनि सुधारोन्मुख रहेको बताए ।
तर अझै जनता निराश छन् नि भन्ने प्रश्नमा उनले भने, 'एकपल्ट मानिस निराश भइसकेपछि त्यो आशामा परिणत हुन समय लाग्छ । आशंका भइसकेपछि विश्वासमा परिणत हुन अलि समय लाग्छ ।'

उनले गलत नीति र गलत परिचालनका कारण अर्थतन्त्रका धेरै सूचक नकारात्मक बनेको र यसलाई नीतिगत रूपमा पनि सच्याउनुपर्ने बताए । 'व्यावहारिक रूपमा पनि सकारात्मक दिशामा लैजान प्रभावकारी कदम चाल्नुपर्छ,' उनले भने ।
उनले कतिपय देशमा सरकार परिवर्तन हुने तर अर्थतन्त्रमा कुनै समस्या नहुने उदाहरण दिए । 'इजरायलमा पनि धेरैपटक सरकार परिवर्तन भयो, तर त्यसले इजरायलको अर्थतन्त्रमा असर परेको छैन,' उनले भने ।
उनले थपे, 'आर्थिक रूपमा अगाडि बढ्न सरकारको ध्यान केमा छ भन्ने कुराले निर्धारण गर्छ । पहिला सरकार बनाउने ध्यान, त्यसपछि टिक्ने ध्यान, त्यसपछि भत्काउने ध्यान भयो भने केही हुँदैन ।'
यसका लागि एउटा मात्र दलले भूमिका खेलेर नहुने उनको जोड थियो ।