०२ साउन २०८३, शनिबार

अस्पतालको नाममा जग्गा दर्ता नहुँदा स्तरोन्नतिमा समस्या

बैशाख २८, २०८१
सिरहा
अस्पतालको नाममा जग्गा दर्ता नहुँदा स्तरोन्नतिमा समस्या

 लामो समय विवादमा रहेको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पतालको नाममा जग्गा दर्ता अझै हुन सकेको छैन । 

यसले गर्दा भौतिक संरचनाको स्तरोन्नतिमा समस्या पैदा भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनील कुशवाहले जानकारी दिए ।  विस २०३७ मा स्थानीय रामकुमार सारडा र उमाप्रसाड मुरारकाले अस्पताललाई दान गरेको जग्गा दाताको नाममा नहुँदा लामो समय विवाद रहेको थियो । बीचमा मधेस प्रदेश सरकारले जग्गा दाताको नाममै अस्पतालको नाम फेरेपछि एक बिगा १५ कठ्ठा जग्गा दर्ता प्रक्रियामा गएको थियो । 

अस्पतालको नाउँमा जग्गा दर्ता गर्नको लागि सबै पक्षबीच हस्ताक्षर पनि भयो । तर, जग्गाको लाभकर लगभग रु चार करोड लाग्ने देखिएपछि दर्ता हुन नसकेको मेसु कुशवाहाले बताए । “करोडौँ मूल्यको जग्गा दाता परिवार दर्ता गर्न तयार त भए । तर, लाभकर सङ्घीय सरकारले मन्त्रिपरिषद्बाट छुटको निर्णय हुन सकेन, “मेसु डा कुशवाहाले भने, “अस्पतालमा प्रदेश सरकारले उपलब्ध गराएको उपकरण प्रयोगमा ल्याउन समस्या भएको छ ।“ 

अस्पतालको नाउँमा चाँडो जग्गा दर्ता गर्नको लागि सरकारले सहयोग गरिदिनको लागि अस्पताल विकास समितिले आग्रह गरेको छ । त्यसैगरी मधेस प्रदेश सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले पनि अस्पतालको स्तरोन्नतिको लागि भवन निर्माण सम्पन्न गरि सेवा विस्तार गर्नको लागि जति सक्दो चाँडो अस्पतालको नाममा जग्गा दर्ता गर्न ताकेता गरेको समितिका सदस्य रामु महतोले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्