
यस साताको सुनको मूल्य उतारचढावपूर्ण रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार (जेठ २१ गते) तोलामा १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भयो ।
जसअनुसार छापावाल सुन यस साता तोलामा २५०० रुपैयाँ वृद्धि भएको छ । महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रह्यो । अर्थात् आइतबारकै मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भयो भने सोमबार १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भयो ।
यसैगरी मंगलबार थप बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार हुँदा बुधबार पनि सोही मूल्यमा कारोबार भयो । तर, बिहीबार भने अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा गिरावट आयो ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भयो भने शुक्रबार सुनको मूल्य फेरि ह्वात्तै बढ्दै १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएर बजार बन्द भयो ।
यस्तै अघिल्लो शुक्रबार १६४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा बढेर १७३५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस हिसाबले सातामा चाँदीको मूल्य ९० रुपैयाँले बढेको हो ।