०३ असार २०८३, बुधबार

वर्षाले किसानलाई राहत

बैशाख ३०, २०८१
झापा
वर्षाले किसानलाई राहत

लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन् ।

आज बिहानैदेखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, सुपारीलगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन् ।

झापा गाउँपालिका–७ मा मकैखेती गरेका जीवनाथ लम्सालले आज बिहानैदेखिको पानीले अलिकति भए पनि राहत मिलेको बताए ।

'धेरै समयपछि माटो भिज्ने गरी पानी परेको छ, हाम्रो जस्तो सुक्खा माटो भएको क्षेत्रलाई यसले राम्रो असर गर्छ', उनले भने ।

आजको पानीले घोगा लाग्दै गरेको मकैका लागि रामवाणको काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापा एकाइका प्रमुख रवीन्द्र सुवेदीले बताए ।

'वर्षा ढिलो भए पनि माटो भिजेको छ, सबै किसानका लागि राहतको काम गर्छ', प्रमुख सुवेदीले भने ।

लामो समयसम्म पानी नपर्दा नदीबाट सिँचाइ भएको ठाउँमा पानीको कमी हुँदै गएको तथा भूमिगत सिँचाइको सुविधा भएका क्षेत्रमा बिजुलीको भोल्टेज कम हुँदा किसानले आवश्यक सिँचाइ गर्न नपाएको बताएका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ का सीताराम खड्काका अनुसार भूमिगत सिँचाइको व्यवस्था भए पनि खडेरीका कारण सबै बोरिङमा सुक्खा लागेको छ ।

'लामो समयको खडेरीका कारण धान, गहुँ आधा जति सुकिसकेका थिए, उत्पादनमा कमी भए पनि आजको पानीले राहत मिल्नेछ', खड्काले भने ।

झापाका विभिन्न भागमा आज बिहानैदेखि सामान्य वर्षा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्