०२ साउन २०८३, शनिबार

वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, आज ५० औं स्थानमा

बैशाख ३०, २०८१
काठमाडौं
वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, आज ५० औं स्थानमा

वायु प्रदूषणको हिसाबले काठमाडौं उपत्यका आज विश्वकै ५० औं स्थानमा सूचीकृत भएको छ ।

यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित शहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज ५० औं नम्बरमा पुगेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ५६ रहेको छ ।

केही दिनयता परेको वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएको तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण भएकाले वायु प्रदूषण पनि कम भएको हो ।​​

डढेलोविद् सुन्दर शर्माले  डढेलो नियन्त्रण भएमा वायु प्रदूषण पनि कम हुने बताएका छन् ।

'अहिले वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएकाले वायु प्रदूषण न्यूनीकरण भएको छ', उनले भने । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात हरियो सङ्केतले चिनिन्छ ।

'५१ देखि १०० सम्मको एक्युआईलाई होसियार रहौं अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ', उनले भने, '१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयसम्मलाई खतरनाक  र  ४०१ देखि ४५० लाई धेरै खतरा मानिएको छ ।'

काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिइन्छ ।

यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्न रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरिने कार्ययोजनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्