
मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर आइतवार दुई मन्त्रीले राजीनामा दिएसँगै माओवादी मधेश सरकारबाट बाहिरिएको हो ।
यसरी राजीनामा दिनेमा भरतकुमार साह र युवराज भट्टराई छन् ।
भट्टराई उद्योग मन्त्री र साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । मन्त्रालयको जिम्मेवारी तोकिएको भए पनि साहले पदभार ग्रहण गरेका थिएनन् ।
एमालेले पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।
मधेश प्रदेशमा माओवादीका ८ सांसद छन् ।
यादव जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका हुन् ।
जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी बनेसँगै मधेशमा माओवादी सरकारबाट बाहिरिएको हो ।
मधेश सरकारबाट माओवादी बाहिरिएसँगै जनता समाजवादी पार्टी नेपाललाई संघीय सरकारबाट बाहिरिन दबाब बढेको छ ।
