०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

संसदीय समिति गठनबारे सत्ता गठबन्धनमै मतभेद, मधेसमा जसपा नेपाललाई झट्का

बैशाख ३१, २०८१
काठमाडौं
संसदीय समिति गठनबारे सत्ता गठबन्धनमै मतभेद, मधेसमा जसपा नेपाललाई झट्का

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आइतबार सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले ती चारवटा प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालसहित २७ जना नेताले सुझावसहित धारणा राखेका थिए ।
००००
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन् । 

आइतबार आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन् ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ अनुसन्धान थालेको छ ।

टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।
००००
मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार बनाउन ४ दलबीच छलफल भएको छ ।

आइतवार दिउँसो जनकपुरमा एक नेताको निवासमा नयाँ सरकार बनाउने विषयमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच छलफल भएको हो ।

नेकपा एमाले र माओवादीका मन्त्रीहरूले राजीनामा र समर्थन फिर्ता लिनु अगावै उनीहरूबीच नयाँ सरकारका लागि छलफल भएको हो ।

बैठकमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, सांसद हरिनारायण महतो, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा माओवादी केन्द्रका सांसद उपेन्द्र महतो, रानी शर्मालगायतका नेताहरू सहभागी थिए ।

छलफलमा चारै दलले सरकारको नेतृत्वमा दाबी गरे पनि सरकार नेतृत्वको विषयमा कुनै सहमति नभएको लोसपाकी सांसद रानी शर्माले बताइन् । आइतबार एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।
००००
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्ने–नगर्ने विषयमा सत्तारूढ दलबीच नै मतभेद देखिएको छ । 

संसदीय छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने कांग्रेसको चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समिति बनाउन केही लचक देखिएका छन् । 

प्रमुख सत्तासाझेदार नेकपा एमाले भने रविमाथि संसदीय छानबिन समिति गठन गर्न नहुने अडानमा छ । कांग्रेस नेताहरूसँग आइतबार बिहान भएको छलफलमा प्रचण्ड संसदीय छानबिनका लागि सकारात्मक देखिएका थिए ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिने भएका छन् ।

उनले सोमवार विश्वासको मत लिने भएपछि आइतवार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर विश्वासको मत लिने विषयमा सहमति जुट्न नसक्दा बैठक सरेको छ ।
००००
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन ।

काठमाडौं जिल्ला अदालतले खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनी दिएको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । 
आइतवार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्