
वैदेशिक रोजगारीका लागि अमेरिका र क्यानडा पठाउने बहानामा ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पक्राउ गरेर सोमवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका -२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका - २ का ४८ वरर्षीय जंगबहादुर विक र तनहुँकै ४६ वर्षीय विष्णुबहादुर बराली रहेका कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरूले अमेरिका, क्यानडालगायतका मुलुकमा प्रतिव्यक्ति ४ लाख माथिको आकर्षक तलब हुने प्रलोभनमा देखाएर ठगी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लाग्ने बताएका थिए ।
साथै १० जनाबाट ५ करोड ५० लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको अनुसन्धानबाट उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारेर राखेको खुलेको छ ।