१५ असार २०८३, सोमबार
क्रिप्टो र अनलाइन जुवाको धन्धा

२४ वर्षका अनिलको २ अर्बको अवैध कारोबार– ५६ वटा बैंक खाता, पहिचानै फेरेर भारतीय नाम

बैशाख ३१, २०८१
काठमाडौं
२४ वर्षका अनिलको २ अर्बको अवैध कारोबार– ५६ वटा बैंक खाता, पहिचानै फेरेर भारतीय नाम

काभ्रेपलाञ्चोकस्थित मण्डनदेउपुर– ८ का २४ वर्षीय अनिल ढुंगानाको शैक्षिक योग्यता स्नातक तह बराबरको हो । उनी इन्फर्मेसन टेक्नोलोजी (आईटी) मा राम्रै दख्खल राख्छन् । 

कम्प्युटर ग्राफिक्समा लामो समय काम गरेका ढुंगानासँग पायोनियर कार्डको नेपालस्थित डिस्ट्रिब्युटरको रूपमा समेत काम गरेको अनुभव थियो ।

त्यही बीचमा उनी डिजिटल प्लेटफर्ममार्फत अवैध जुवा खेलाउने ‘वान एक्स वेट’ मा प्रवेश गरे । ढुंगानाले ‘जुवा३६५’ नामको पेजको बनाए ।

उक्त पेजमा आबद्ध भएकालाई फेसबूकमा साथी बनाउँदै गए । जो–जो साथी बने उनीहरूलाई अनलाइन जुवा खेलाउन थाले । फेसबूकमै साथी बनेकाहरूको नाममा विभिन्न बैंकमा ५६ वटा खाता खोले । सोही खातामार्फत उनले ६१ करोड ६४ लाख ५९ हजार एक सय २० रुपैयाँ कारोबार गरे । तर, जो जसको नाममा खाता खोलेर कारोबार गरेका छन्, उनीहरूलाई यसबारे जानकारी नहुन सक्ने प्रहरीले जनाएको छ । डिजिटल वालेटमार्फत ढुंगानाले ५ करोड ९३ हजार सात सय ८२ रुपैयाँको कारोबार गरेको देखिन्छ । 

null

ढुंगाना अनलाइन जुवमा मात्रै सीमित रहेनन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्ने एप बाइनान्समार्फत २ वटा खाता प्रयोग गरी २ सय ४३ वटा क्रिप्टो कारोबार गरेका छन् ।

त्यसको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार दुई सय रुपैयाँ बराबर रहेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई बताउँछन् । 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ढुंगानाले आफ्नो परिचय परिवर्तन गरेर अनिल साहको नाममा भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएफसी बैंकको चेक बुक र एटीएम कार्डको सुविधा लिएका थिए ।

उनले भारतीय एयरटेल कम्पनीको सीमकार्ड समेत प्रयोग गरेको प्रहरीले जनाएको छ । प्रहरीले ढुंगानाबाट विभिन्न व्यक्तिका नाममा निकालिएको ३५ वटा सिमकार्ड, उनकै नाममा विभिन्न बैंकबाट जारी भएको सातवटा चेक बूक, चारवटा एटीएम कार्ड, विभिन्न व्यक्तिको नाममा जारी भएको ११ वटा चेक बूक लगायत समाग्री बरामद गरेको छ । 

‘हामीले पक्राउ गर्दाको अवस्थामा भेटिएको प्रमाण र तथ्यहरू सार्वजनिक गर्‍यौं,’ भट्टराईले पत्रकार सम्मेलनमा भने, ‘थप विवरण खुलेसँगै अनुसन्धान अगाडि बढाउँछौं ।’ 

उनले वान एक्स वेटमार्फत अन्य कसैले कारोबार गरेको तथ्य खुलेमा अनुसन्धान गरि कारबाही गर्ने बताए । ​

प्रतिबन्धपछि पनि निर्बाध सञ्चालन

सरकारले २०७८ जेठ २३ बाट ‘वान एक्स वेट’ लाई प्रतिबन्ध लगाएको थियो । सञ्चार मन्त्रालयअन्तर्गतको विज्ञापन बोर्डले उक्त कार्य विज्ञापन नियमन ऐनविपरीत भएको भन्दै डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरेको थियो । 

‘वान एक्स वेट’ले गरेको कार्य विज्ञापन नियमन ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्थाविपरीत भएको बोर्डको तर्क थियो । 

बोर्डले ‘वान एक्स वेट’का गतिविधि बन्द गर्न, डिजिटल प्लेटफर्ममा राखिएका विज्ञापन तथा प्रमोसनल भिडियो हटाउन पनि निर्देशन दिएको थियो । 

विभिन्न खेलको पूर्वानुमान गर्न आग्रह गर्दै डिजिटल प्लेटफममार्फत जुवामा लगानी गराउने काम वान एक्स बेटले गर्दै आएको छ ।

यसको प्रचारमा चर्चित हास्य कलाकारहरू मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ र राजु पौडेल ‘राजु मास्टर’लगायत जोडिएपछि बोर्डले यसमा कडाइ गरेको थियो । तर, पनि अहिले लुकिछिपी धेरैले चलाउँदै आएका छन् । ​

कारोबार कसरी हुन्छ ? 

‘वान एक्स बेट’ अनलाइन जुवा नेपालमा प्रतिबन्धित छ । विश्वका केही देशहरूमा भने कानूनी मान्यता छ । वान एक्स बेट साइप्रसमा दर्ता भएको देखिएको छ । त्यहाँबाट विभिन्न देशमा अनलाइन जुवा खेलाइने गरेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय नेपाल पनि अनलाइन जुवाका लागि वान एक्स वेट सञ्चालन गर्दैै आएका छन् । यसका सञ्चालकले नेपालमा एजेन्ट नै नियुक्ति गर्छन् ।

विश्वकप क्रिकेट, आईपीएल र विश्वकप फूटबलका समयमा नेपालमा खडा गरिएका एजेन्टले वान एक्स वेट सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट देखिएको छ । 

एजेन्टहरूले देशका विभिन्न व्यक्तिहरूबाट नागरिकता संकलन गरेर सिम कार्ड झिक्ने तथा डिजिटल वालेट एकाउन्ट खोल्ने गरेको देखिएको छ । 

‘नागरिकता एउटाको हुन्छ तर, फोटो अर्कैको हालेर सिम कार्ड झिक्ने र त्यसैबाट डिजिटल वालेटको एकाउन्ट खोल्ने गरेको देखियो,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईले भने, ‘ढुंगानाको हकमा १५ वटा वालेट एकाउन्ट खोलेको देखिएको छ ।’ 

वालेट एकाउन्ट खोलेपछि वान एक्स बेटमार्फत बाजी गर्न चाहने व्यक्तिले एजेन्ट मार्फत क्यास म्यानेजरसम्म पुगेर रकम जम्मा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ग्राहकले खोलेको एकाउन्टमा पैसा हाल्ने र झिक्ने काम एजेन्टले गर्ने गरेका छन्। 

ढुंगाना नेपालको एजेन्टमध्येका एक प्रमुख पात्र हुन् । ठूला खेलमा बाजी लगाउँदा ग्राहकले जित्यो भने पैसा सम्बन्धित एकाउन्टमै जम्मा हुन्छ ।

हार्‍यो भने पैसा एजेन्टले नै तानेर म्यानेजरको एकाउन्टमा फर्वाड गरिदिन्छन् । वान एक्स वेट सञ्चालन गर्ने एउटा एजेन्टले अर्को एजेन्टलाई समेत आफ्नो परिचय नदिने गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्