
नेपाली कांग्रेसले आज संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम पढ्न दिने निर्णय गरेको छ ।
राष्ट्रपतिले सम्बोधन गर्ने संयुक्त बैठकमा भाग लिने र कुनै अवरोध नगर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘हामीले नेपालको संविधान, गणतान्त्रिक आफ्नै नेतृत्वमा संविधान बनायौं व्यवस्था स्थापित गरेका छौं । राष्ट्रपतिको विशेष मर्यादा र गरिमा छ । संविधानका व्यवस्थालाई हेरेर आजको संयुक्त बैठक चल्न दिन्छौं', लेखकले भने, ‘यो संयुक्त बैठक र निरन्तर चल्ने बैठक फरक हुन्छन् । राष्ट्रपतिले सम्बोधन गर्ने संयुक्त बैठकमा भाग लिन्छौं । राष्ट्रपतिको सम्बोधनलाई सुन्छौं अवरोध हुँदैन । त र यो बाहेक छानबिन समिति नबन्दासम्म सरकारका अरु काम कारबाहीमा प्रवेश गर्दैनौं ।’
दिउँसो ३ बजे राष्ट्रपतिले नीति कार्यक्रम पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई धन्यवाद भन्न पनि नदिने निर्णय भएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।
‘कांग्रेसको संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति कार्यक्रम पढ्न दिने तर आजै प्रधानमन्त्रीलाई धन्यवाद दिन पनि नदिने गरी संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ’, खतिवडाले लोकान्तरसँग भने ।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।
समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने अडान कांग्रेसले लिँदै आएको छ ।