१५ असार २०८३, सोमबार
पूर्वमन्त्रीको चर्तिकला

जब पूर्वमन्त्रीले गृहमन्त्रीको कार्यकक्षमै छिरेर कर्मचारीलाई निर्देशन दिए...

जेठ १, २०८१
काठमाडौं
जब पूर्वमन्त्रीले गृहमन्त्रीको कार्यकक्षमै छिरेर कर्मचारीलाई निर्देशन दिए...

मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समीम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए ।

आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका कर्मचारीलाई बोलाएर विभिन्न निर्देशन समेत दिएको ती कर्मचारीको भनाइ छ ।

'पूर्व गृहमन्त्रीज्यू हिजो कार्यकक्षमा आएर मन्त्री बस्ने कुर्सीमा बसी फेरि म नै गृहमन्त्री बनेर आउँदैछु भन्नुभयो,' ती कर्मचारीले लोकान्तरसँग भने, 'के कति फाइलहरू छन्, सबै ल्याऊ भन्दै निर्देशन दिनुभयो ।'

समीमले आफ्नो कार्यकालमा नियुक्त गरिएका करारका कर्मचारीहरूलाई बोलाएर निर्देशन दिएको उनको भनाइ छ ।

'निवर्तमान मन्त्री (राजकुमार लेखी)को कार्यकालमा के–के काम भयो, सबै फाइल ल्याऊ भनेर निर्देशन दिनुभयो,' ती कर्मचारीले भने, 'सचिवज्यू समेत मन्त्रालयमा नभएका बेला उहाँ आएर त्यसरी निर्देशन दिँदा हामी सबै अलमलमा परेका थियौं ।'

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि मधेशमा गृहमन्त्रालय नेतृत्वविहीन छ । सोमबारको घटनापछि मन्त्रीको कार्यकक्षमा मंगलबारबाट ढोका लगाइएको छ ।

पूर्वमन्त्री समीम सोमबार मन्त्रीको कार्यकक्षमा आएर मन्त्रीकै कुर्सीमा बसेको विषयमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद खरेलले आफू काठमाडौंमा रहेको बताए ।

सचिव वीरेन्द्र यादव पनि आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे ।

'हिजो क्याबिनेट बैठक थियो । त्यसकारण लामो समय मुख्यमन्त्री कार्यालयमै थिएँ,' सचिव यादवले लोकान्तरसँग भने, 'त्यसैले मलाई केही थाहा छैन, सूचना अधिकारीलाई सोध्नुस् ।'

मन्त्रालयका सूचना अधिकारी सन्दीपकुमार सिंहले पूर्वमन्त्री समीम मन्त्रालयमा आएको स्वीकारे । तर, मन्त्रीको कुर्सीमा भने नबसेको उनको भनाइ छ ।

'उहाँ मन्त्रीको कुर्सीमा बस्नुभएको होइन । मन्त्रालयको इन्जिनीयर तस्वे जुली राइनको कार्यकक्षमा बस्नुभएको हो,' सूचना अधिकारी सिंहले लोकान्तरसँग भने, 'करिब १ बजेदेखि २ बजेसम्म उहाँ मन्त्रालयमा हुनुहुन्थ्यो ।'

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वमन्त्री समीमले भने आफू मन्त्रालयमा चिया खान मात्र गएको बताए ।

'हिजो नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव पनि मसँगै हुनुहुन्थ्यो । शुरूमा मुख्यमन्त्री कार्यालयमा गएको थिएँ । त्यसपछि केहीबेर भौतिक पूर्वाधार मन्त्रालयमा गएको थिएँ,' समीमले लोकान्तरसँग भने, 'आएका बेला गृह मन्त्रालयमा पनि जाऊँ भनेर गएको हो ।'

आफू मन्त्रालयमा गए पनि गृहमन्त्रीको कार्यकक्षमा नबसेको उनको जिकिर छ ।

'राज्यमन्त्री बस्ने कार्यकक्षअगाडि रहेको वेटिङरूममा बसेर कर्मचारीहरूसँग कुराकानी गरेको हो,' उनले थपे, 'गलत गरेको कसैले प्रमाणित गरिदियो भने सांसदबाट समेत राजीनामा गरिदिन्छु । '  

समीमले राज्यमन्त्रीको 'वेटिङ रूम'मा बसेको बताउनु र सूचना अधिकारीले इन्जिनीयरको कार्यकक्षमा बसेको भन्नुले पनि कुरा बाझिएको देखिन्छ ।

यसअघि एमालेका राजकुमार लेखी उक्त मन्त्रालयमा मन्त्री थिए । आइतबार एमाले सरकारबाट बाहिरिएपछि मन्त्रालयको कुर्सी खाली थियो ।

त्यही मौका छोपेर त्यसको भोलिपल्ट सोमबार पूर्वमन्त्री समीम त्यहाँ पुगेर मन्त्रीको कुर्सीमा बसेर कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएको कर्मचारीहरू बताउँछन् ।

अपडेट : पूर्वमन्त्री समीमसँगै सोमवार मन्त्रालय पुगेका नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयका मुख्य सचिव सन्तु यादवले त्यस खालको कुनै अमर्यादित गतिविधि नभएको दाबी गरे । 'हामी सँगै थियौं । सेवाग्राहीको भावनाले सेवा लिन जानुभएको हो । त्यस्तो केही पनि भएको छैन,' यादवले लोकान्तरसँग भने, 'उहाँ राम्रो बानी व्यवहार भएको मान्छे हो । सबैलाई सम्मान गर्ने मान्छे हो । सबैलाई मिलाएर अगाडि बढाउने मान्छे हो । त्यस्तो गलत काम केही भएको छैन ।'

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस, लोसपासहितलाई समेटेर सरकार जोगाउन प्रयास गरिरहेका छन् । एमाले र माओवादी भने जसपाका केही सांसदलाई तानेर जनमत पार्टीसहितको सरकार बनाउने प्रयासमा देखिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्