
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झन रोमान्चक बनेको छ । लिगको उपाधि दौड अन्तिम खेलसम्म पुगेको छ । लिगमा एक-एक खेल बाँकी छँदा आर्सनल र म्यानचेस्टर सिटी कसले जित्ने भन्ने टुंगो लाग्न बाँकी छ।
गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिनजिक पुगेको छ । इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टरले टोटनहमलाई हराएको हो ।
जितपछि सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ । सिटीको ८८ अंक छ भने आर्सनलको ८६ अंक छ । लिगमा अब एकै चरणका खेल मात्र बाँकी छन् । अन्तिम चरणको खेलमा सिटीले वेस्ट ह्यामको सामना गर्नेछ भने आर्सनल एभर्टनसँग भिड्नेछ ।
अन्तिम खेलमा विजयी भए सिटीले उपाधि हात पार्नेछ । लिग चरणका अन्तिम खेल आगामी आइतबार हुनेछन् ।