
क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेराको फुटेजलाई अपराध अनुसन्धानका लागि अकाट्य प्रमाणका रूपमा लिइन्छ । सूचना प्रविधिको विकाससँगै यसको प्रयोग र दुरुपयोग दुवै देखिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणसँगै ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कारबाही गर्न पनि सीसीटीभी क्यामेराको उपयोग गर्दै आएको छ । अहिले त झन् प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि समेत उपयोगमा ल्याएको छ ।
काठमाडौं उपत्यकामा धेरै क्यामेरा जडान गरिएको छ । त्यस्ता क्यामेराले व्यक्तिसँगै सवारीसाधनको समेत निगरानी गरिरहेका छन् । एआई प्रविधिको क्यामेराले शंकित व्यक्तिको तस्वीर र सर्भरमा राखिएको तस्वीर मेल खाएमा सिस्टममा नोटिफिकेसन दिन्छ । नोटिफिकेसन आएपछि प्रहरीले शंकित व्यक्तिलाई निगरानी बढाएर नियन्त्रणमा लिँदै आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा बताउँछन् । यो आर्थिक वर्षमा ५ सय २७ वटा सीसीटीभी फुटेजको आधारमा प्रहरीले ४ सय ९ वटा आपराधिक घटना अनुसन्धान गरी टुङ्ग्याएको जानकारी थापाले दिए ।
सवारी साधनलाई ठक्कर दिएर फरार भएका र अन्य कुनै अपराधमा संलग्न भएर भागेका सवारीसाधन नियन्त्रणमा लिन अटोमेटिक नम्बर प्लेट पहिचान गर्नसक्ने क्यामेरा ‘एएनपीआर’ चक्रपथमा जडान गरिएको छ ।
एआईजी थापाका अनुसार यो आर्थिक वर्षको वैशाखसम्ममा उपत्यका प्रहरी कार्यालयअन्तर्गत २ सय ६३ क्यामेरा जडान गरिएका छन् । देशभर १ हजार २ सय ९६ वटा थप सीसीटीभी जडान गरिएको प्रवक्ता एसएसपी दान बहादुर कार्कीले बताए

केही घटना, जो सीसीटीभीकै सहयोगमा अनुसन्धान शुरू
पछिल्लोपटक गत वैशाख २७ गते सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकका सुरक्षा गार्ड पर्शुराम फुयाँलको खुकरी प्रहार गरी हत्या गर्ने अभियुक्तलाई पक्राउ गर्न प्रहरीले सीसीटीभीको सहारा लिएको देखिन्छ ।
खुकुरी प्रहार गरी फुयाँलको हत्या गर्ने व्यक्ति थिए, फत्तेपुरकै चन्द्रबहादुर सुवेदी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार २७ गते राति १२ बजे सुवेदी बैंकभित्र प्रवेश गरेको सीसीटीभीमा कैद भएको थियो । त्यस्तै राति ३ बजे गार्ड फुयाँल सुतेको कोठामा चावी खोज्न पुगेको दृश्य समेत क्यामेरामा कैद भएका छन् । फुयाँल छटपटाउँदा भने उनी लुकेको देखिन्छ । फुटेजकै आधारमा सुवेदीको पहिचान भएपछि खोजीका लागि प्रहरी जुटेको थियो ।
थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट गत फागुन ११ गते शुक्रबार बच्चा चोरी गरेकी महिलालाई प्रहरीले सीसीटीभी फुटेजकै आधारमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले अस्पतालको गेटदेखि काँडाघारीसम्मको सीसीटीभी फुटेज अध्ययन गरेर दोलखाकी मनकुमारी सिंहलाई बच्चासहित नियन्त्रणमा लिएको थियो । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले सिंहलाई पक्राउ गर्न प्रहरीले सीसीटीभी उपयोग गरेको बताए ।
त्यस्तै, गत वैशाखमा झापाका सहकारीमा चोरीको आतंक मच्चाउँदै आएको ६ जनाको समूहलाई प्रहरीले सीसीटीभीकै सहयोगमा नियन्त्रणमा लिन सफल भएको थियो । हाइटेक प्रविधि प्रयोग गरेर चोरी गर्दै आएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सोही ठाउँका २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २४ वर्षीय बद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका –८ फाखेलका २८ वर्षीय अजय राना मगर पक्राउ परेका थिए ।
झापाको शिवसताक्षी, पाँचगाछी, गौरादहलगायतका स्थानमा सहकारी चोरी गरेर उनीहरू सुनसरीको इटहरीस्थित न्यू विशाल होटल एन्ड गेस्ट हाउसको कोठा नम्बर ६ मा बस्दै आएको पत्ता लागेपछि प्रहरीले सहकारीवरपरको सीसीटीभी हेरेर चोरको पहिचान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार यो गिरोहले कतिपय स्थानमा राखिएका सीसीटीभीको उपकरण समेत चोरेर भाग्दै आएका थिए । सडकमा राखिएका सीसीटीभी अध्ययन गरेर चोरको पहिचान भएपछि खोजी बढाइएको थियो ।
२०७६ असोज १२ गते तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लाग्यो । तर, महराले उक्त आरोपको खण्डन गरे । अनुसन्धानमा संलग्न प्रहरीले सीसीटीभीकै सहयोग लिएका थिए । तत्कालीन समयमा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘पीडितले जाहेरीमा उल्लेख गरेअनुसार सीसीटीभी फुटेज हेर्दा केही मेल खाएपछि प्रहरी विश्वस्त भयो । महराले शुरूमा आफू घटनास्थलमा नरहेको बताए पनि सीसीटीभी फुटेज देखाएपछि उनी हच्किएका थिए ।’ तर, महराले उक्त घटनामा सफाइ पाइसकेका छन् ।
यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । २०७४ असोज २३ मा शान्तिनगरमा निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या गर्ने ‘सुटर’ श्याम गोम्बेलाई पनि सीसीटीभीकै सहयोगमा पक्राउ गरिएको थियो ।
२०६७ मा काठमाडौं गणबहालका व्यापारी अञ्जनीकुमार चाचनमाथि गोली प्रहार गर्ने व्यक्ति र २०६१ म बौद्धस्थित नबिल बैंकभित्र गोली चलाउने व्यक्ति सीसीटीभीकै फुटेजबाट अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
‘हिट एन्ड रन’ मा धेरै उपयोगी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारीसाधनले ठक्कर दिएर भाग्ने (हिट एन्ड रन) का घटनामा सीसीटीभीको उच्चतम प्रयोग हुन्छ ।
कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान र चालक नियन्त्रणमा लिन सीसीटीभीको सहयोग लिइन्छ ।
कोटेश्वर–कलंकी सडक खण्डमा त सवारी–साधनको नम्बर प्लेट रिड गर्नसक्ने सीसीटीभी राखिएको छ नै राखिएको छ, जसका कारण ‘हिट एन्ड रन’ का घटनामा न्यूनीकरण आएको भनाइ श्रेष्ठको छ । ट्राफिक कार्यालयका अनुसार यो आर्थिक वर्षको वैशाखसम्ममा ट्राफिक नियम उल्लंघन गरेर फरार भएका १४ हजार ७ सय ७६ जना चालक सीसीटीभीकै माध्यममार्फत कारबाहीको दायरामा आएका छन् ।