
नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै उनीहरूको माग पूरा गर्न आग्रह गरेका हुन् ।
अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न कांग्रेसले आग्रह गरेको छ ।
यस्तै, विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्दा संयोजक विकास थापालगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्ति पक्राउ परेका उल्लेख गर्दै त्यसमा पार्टीको प्रहरीलाई आन्दोलनको सम्मान गर्न आग्रह गरिएको छ ।
'विगत केही महिनाअघि भण्डारीसहित अपाङ्गता भएका व्यक्तिले गरेको आन्दोलनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवासम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत दुई हप्तादेखि पुनः अनसनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं', विज्ञप्तिमा उल्लेख छ ।