
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
संसद्मा कांग्रेसले गरिरहेको अवरोध, सरकारको नीति कार्यक्रमसहितका विषयमा प्रधानमन्त्रीले बुधवार दिउँसो एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् ।
‘उहाँहरू नबसेको धेरै दिन भएको थियो । यसैले सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच आधा घण्टा कुराकानी भएको छ', प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले लोकान्तरसँग भने, ‘उहाँहरूबीच सदनको गत्यावरोध अन्त्य गर्ने, नीति कार्यक्रममाथि छलफल चलाउनेसहितका विषयमा छलफल भएको छ ।’
ओली एमालेको संसदीय दलको बैठकबाट प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा पुगेका थिए ।
ओलीले कांग्रेसबाट सदनमा अनावश्यक अवरोध भएको भन्दै दलको बैठकमा आक्रामक अभिव्यक्ति दिएका थिए ।