
प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको हो।
सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज तथा उद्धारका लागि ‘एटके एक्सपिडिसन’ प्रालिमार्फत दुई शेर्पा खटाइए पनि मौसमी प्रतिकूलताका कारण चौथो शिविरमै रोकिएको र उद्धारका लागि थप दुई जना शेर्पा हाल तेस्रो शिविर पुगेको उनले बताए ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको जारी आरोहणमा गत वैशाख ३१ गते बिहान ८ः४५ बजे सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएका हुन् ।
गत वैशाख २८ गतेदेखि सुरु भएको वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पाले वैशाख २९औँ पटक सगरमाथा आरोहण गरेर यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।
विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् ।