
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले सीमित स्रोत र साधनकाबीच सरकार पर्यटन प्रवर्द्धनमा लागेको बताएका छन् । रसुवा–नुवाकोट पर्यटन समाजद्धारा आज आयोजित ‘रसुवा र नुवाकोटका पर्यटकीय सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रममा उनले थोरै बजेटकाबीच सरकारले पर्यटन प्रवद्र्धनमा काम गरिरहेको बताए। “पर्यटन क्षेत्रमा विदेशीलाई मात्र लक्षित गरेर योजना बनाएर हुँदैन, आन्तरिक पर्यटकलाईसमेत प्रवद्र्धन गर्ने खालको योजना आवश्यक छ,” उनले भने ।
मन्त्री तामाङले नेपालको विकासको मुख्य आधार जलस्रोत र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे । रसुवा र नुवाकोटको पर्यटन विकासमा सहयोग गर्ने उनको भनाइ थियो । मन्त्री तामाङले मध्यपहाडी सडक आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सरकारले राखेको बताए ।
सहसचिव रुद्रसिंह तामाङले नुवाकोट र रसुवामा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र रहेकाले त्यसको प्रवद्र्धनमा तीनै तहका सरकार लाग्नुपर्ने उल्लेख गरे । नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पर्यटकीय गन्तव्य भएका क्षेत्रको खोज र अनुसन्धान गरी त्यसको विकासमा नगरपालिकाले काम गरिरहेको उल्लेख गरे ।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शिवपुरी क्षेत्रसँग जोडिएको आफ्नो गाउँपालिकाको पर्यटकलाई अगाडि बढाउनका लागि गाउँपालिका लागिपरेको बताए ।
विसं २०६७ मा स्थापना भएको रसुवा–नुवाकोट पर्यटन समाजले रसुवा र नुवाकोट क्षेत्रमा रहेका पर्यटकीयस्थलको खोज, अनुसन्धान गरी पर्यटन प्रवद्र्धनमा काम गरिरहेको सो समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।