२६ जेठ २०८३, मंगलबार
संसदीय दलको बैठक

रविमाथि संसदीय छानबिनको मागमा कांग्रेस अडिग, सभामुखको भूमिका निष्पक्ष नरहेको ठहर

जेठ ४, २०८१
काठमाडौं
रविमाथि संसदीय छानबिनको मागमा कांग्रेस अडिग, सभामुखको भूमिका निष्पक्ष नरहेको ठहर

प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको कांग्रेस सचेतक रमेश लेखकले जानकरी दिए । 

सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले बताए । कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । 'सहकारी ठगीलाई बचाउन सरकार लागेको छ । सरकारलाई चेतावनी दिएका छौँ– यस्तो ठगी बचाउने काम सरकारले नगरोस्,' बैठकपछि उनले भने ।

उनका अनुसार कांग्रेसले संसद् बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहरसमेत गरेको छ । 'संसदीय मूल्य र मान्यतामा विपक्षी दल उभियो भने पनि संसद् अवरोध मानिन्छ । विपक्षीसहित सबै विपक्षमा रहेका दलका सांसदहरू उभिएका बेला संसद् सञ्चालन उचित थिएन । सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो,' उनले भने, 'सभामुख निर्वाचित भएपछि संलग्नता स्थगित गर्नुपर्छ । सभामुखलाई तटस्थता र निष्पक्षतासहित बैठक सञ्चालन गर्न आह्वान गरेका छौँ ।'

रविमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । बिहीबारको बैठकमा कांग्रेसको अवरोधबीच सभामुखले संसद्को काम कारबाही अगाडि बढाएपछि तनाव उत्पन्न भएको थियो । कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो । संसद्को बैठक आज पनि बस्दै छ । 

salt training

कमेन्ट गर्नुहोस्