×

बालेनको २ वर्षे कार्यकाल समीक्षा

बालेन मिथक र मैले देखेको आजको काठमाडौं

काठमाडाैं | जेठ ४, २०८१

आमाको मुख हेर्ने औँसीको दिन चितवनको नारायणगढबाट एक परिवार (आमा, बुवा र छोरा) माइक्रोबसमा काठमाडौंतर्फ आउँदै रहेछन् । धादिङको नौबीसे आइपुगेदेखि नै उनीहरू 'बालेन सिटी' (काठमाडौं) आउन लाग्यो भनेर उत्साहित देखिएछन् । सिस्नेखोलामा बन्दै गरेको सुरुङ समेत नियालेर बेलुका करिब ८ बजे नागढुंगा उक्लिएपछि १२/१४ वर्ष हाराहारीको छोरालाई सडक र उपत्यकाको झिलिमिली देखाउँदै ती बुवाले भनेछन्- 'बालेनले काठमाडौंको रूपै फेरेछ, हेर त झिलिमिली !'

Laxmi Bank

त्यही गाडीमा यात्रा गरेकी मेरी श्रीमतीले सो कुरा सुनाउँदै आश्चर्यमिश्रित भावमा भनिन्- 'नागढुंगा त चन्द्रागिरि नगरपालिका हो नि ! यहाँ भएको कामलाई पनि मान्छेहरूले बालेनले गरेको भन्दा रहेछन् ।' ठट्टा गर्दै मैले थपें, 'हाम्रो टोल (चन्द्रागिरि- १२)मा पनि हालै ढलान भएको छ । भित्री सडकमा समेत बत्ती हालिदिएका छन् । अब तिमी पनि बालेनलाई धन्यवाद देऊ !'
***


Advertisment

यो आलेख लेख्न बस्नुअघि मलाई प्रेरित गरेको अर्को एउटा घटना पनि छ, जुन हाम्रा (Lokantar.com का) सम्पादक विमल गौतमले न्युजरूमको दैनिक मीटिङमा सुनाउनुभएको थियो ।


Advertisment

केही महिनाअघि उहाँ परिवारसहित अमेरिका जानुभएको थियो । यसबीचमा लामो हवाई यात्रा र अन्य विभिन्न कारणले उहाँ केही दिन समाचारमा खासै अपडेट हुनुभएको रहेनछ ।

त्यसैक्रममा अमेरिकामा उहाँको चिनजानका एक नेपालीले भनेछन्– 'दाइ काठमाडौंमा बालेनले त चमत्कार नै गरेछ । यस्तै काम हुँदै गयो भने त म पनि छिट्टै नेपाल फर्किन्छु ।'

उनको कुरा सुनेपछि विमल सर एकछिन त अन्योलमा पर्नुभएछ । 'म आएको ३/४ दिन भयो । त्यसअगाडि त खासै चमत्कार देखेको थिइनँ, तत्काल केही भइहाल्यो कि !' यस्तै सोचेर उहाँले खासै प्रतिक्रिया जनाउनुभएन छ । साँझ इन्टरनेटको पहुँचमा पुगेर सरर मिडियाहरू चहार्दा त्यस्तो कुनै चमत्कारको संकेत नदेखेपछि उहाँ मज्जाले हाँस्नुभएछ ।

'स्वदेश फर्किनेले सुटकेसमा बालेन सिटी लेखेर आउँछन् । विदेश पुग्दा म आफैंले त्यस्तो भोगेँ । चमत्कार नै भएजस्तो त लाग्दैन, तर यस्तो छ मान्छेको बुझाइ,' अमेरिकाबाट फर्किएपछि उहाँले आफ्नो निष्कर्ष सुनाउँदै भन्नुभएको थियो ।

***

म चन्द्रागिरि- १२ देखि ललितपुर महानगरपालिका- १० कुपन्डोलसम्म दैनिक यात्रा गर्छु । बल्खु-कलंकी-एलआरआई स्कूल हुँदै यात्रा गर्ने क्रममा बल्खु-कलंकी रिङ रोडलाई छाड्ने हो भने खाल्डाखुल्डी भएको र बिग्रिएको सडक जति छ, त्यो सबै काठमाडौं महानगरपालिका (वडा नम्बर १४) मा पर्छ ।

साँघुरो सडकका कारण एलआरआई मोडमा 'पीक आवर'मा प्राय: जाम हुन्छ । अन्यत्र डोजर लिएर पुग्ने बालेनको नजर शायद कलंकीबाहिरको यो सडकमा परेको छैन । जहाँबाट सडक फराकिलो र पिच नबिग्रिएको भेटिन्छ, त्यहीँबाट चन्द्रागिरि नगरपालिका शुरू हुन्छ ।

यसो भन्दै गर्दा के प्रस्ट पार्न चाहन्छु भने चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिसँग मेरो व्यक्तिगत चिनजान छैन । खासै रिपोर्टिङमा नहिँड्ने र समाचार सम्पादनको जिम्मेवारी भएकाले उनीसँग प्रत्यक्ष भेटघाट समेत भएको छैन ।

मलाई अर्को कुरा के पनि जानकारी छ भने उक्त सडक महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्दैन । तर, आफ्नै महानगरभित्र नागरिकले भोगिरहेको सास्तीबारे बालेनको ध्यान नपुगेकाले यस विषयलाई यहाँ उद्धृत गरेको हुँ ।

केही प्रशंसायोग्य काम

बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि केही यस्ता काम गरेका छन्, जसको साँच्चै प्रशंसा गर्न सकिन्छ ।

जस्तै– शिक्षण संस्था र अस्पतालहरूलाई उत्तरदायी बनाउने उनको प्रयास निकै प्रशंसायोग्य छ । सतप्रतिशत कार्यान्वयन हुन नसकेपनि उनले 'एनुअल फी'का नाममा अभिभावकहरूबाट बर्सेनि भर्ना शुल्क असुल्ने निजी स्कूलहरूको लुट रोक्न निर्देशन दिएका छन् । यो काठमाडौं उपत्यकामा बसोबास गर्ने अधिकांश मध्यमवर्गीय र निम्न मध्यमवर्गीय परिवारहरू लाभान्वित हुने काम हो ।

साथै, गरिब तथा विपन्न विद्यार्थीहरूलाई नि:शुल्क कोटा अनिवार्य गराएका छन् । सरकारी शिक्षण संस्था सुधारका लागि पनि उनले उल्लेख्य प्रयास गरेको देखिएको छ ।

अर्कातर्फ कानूनै बनाएर विपन्न र असहाय नागरिकहरूले नि:शुल्क उपचार पाउने व्यवस्था मिलाउन प्रयास गरेका छन् ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पतालहरूले विपन्न, असहाय र बेवारिसे नागरिकका लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर त्यसमा लाग्ने सम्पूर्ण खर्च नि:शुल्क गर्नुपर्ने व्यवस्था गरेका छन् । त्यसका लागि उनले अनलाइन प्रणाली नै विकास गरेका छन् ।

असहाय र विपन्नलाई लक्षित गरी महानगरले नि:शुल्क एम्बुलेन्स सञ्चालन गरेको छ । १०२ नम्बरमा फोन गरेर नगरबासीले सहज सेवा लिन सक्छन् । काठमाडौं बाहिरका केही पालिकालाई एम्बुलेन्स बाँडेका छन् ।

सीप मेला आयोजना गरेर काठमाडौंको खुलामञ्चमा २ हजारभन्दा बढी नागरिकलाई सीपमूलक तालिम सिकाइरहेका छन् ।

महानगरको बैठक लाइभ गर्ने निर्णय तथा होटल/रेस्टुरेन्टका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने निर्णय पनि बालेनले शुरूआती चरणमा गरेका राम्रा काम थिए ।

यसका अलावा बलमिच्याइँ गरेर अवैध संरचना खडा गरेका केही ठूलाबडालाई तह लगाएका छन् । डोजरै लगेर तर्साएका छन् ।

null

पार्किङ व्यवस्थापन गरेका छन् । पार्किङका लागि छुट्ट्याउनुपर्ने बेसमेन्टमा रहेका सटर तथा अन्य संरचना हटाएर पार्किङ अनिवार्य गरेका छन्, जसका कारण मुख्य बजार क्षेत्र व्यवस्थित देखिएको छ ।

बस स्टपहरूमा प्राचीन फाल्चा राख्ने कामको थालनी पनि बालेनले गरेको राम्रो काम हो । ढलमा परिणत भएर थुनिएका खोला खोल्ने, सडक पेटीमा रंगरोगन गर्ने, फूल रोप्ने लगायत पनि सर्वसाधारणको नजरमा परेका छन् ।

जे गर्न जानेनन्...

फूटपाथबाट निमुखाहरूलाई खेद्ने बालेनको शैलीका विषयमा म मात्र होइन, मेरो सर्कलका अधिकांश साथीहरूको 'रिजर्भेसन' पाउँछु ।

उच्च शिक्षा अध्ययनका लागि वि.सं. २०६४ सालमा धादिङबाट काठमाडौं छिरेयता करिब १६ वर्षको अवधिमा मैले अनुभव गरेको कुरा के हो भने काठमाडौंमा हुनेखानेहरू जति छन्, त्यसको दुई गुणा निम्न मध्यमवर्ग र निमुखा छन् ।

अवसरको खोजीमा देशभरबाट काठमाडौं छिरेका निमुखा नागरिकहरू कसैले दैनिक ज्यालामजदूरी गरेर पेट पाल्दै आएका छन् त कसैले सडकमा सानोतिनो व्यापार गरेर गुजारा चलाउँछन् । थोरैतिनो पारिश्रमिकमा उद्योग कलकारखाना तथा निजी क्षेत्रका अन्य 'अफिस'मा काम गर्नेको संख्या त्यत्तिकै छ ।

फूटपाथमा निर्भर निमुखाहरूमाथि बालेनले गरेको व्यवहारलाई 'ज्यादती' भन्दा फरक पर्दैन । फूटपाथ खाली गर्ने कुरा आफैंमा नराम्रोचाहिँ होइन, तर त्यसका लागि शुरूमा विकल्प दिनुपर्थ्यो । निश्चित स्थान छुट्ट्याएर उनीहरूलाई व्यवस्थित गरी फूटपाथ खाली गरिएको भए आलोचना हुने थिएन ।

null

अर्कातर्फ बालेनको अन्य कार्यशैलीलाई लिएर पनि असन्तुष्टि व्यक्त हुने गरेको छ । बालेनका कमजोरीहरू के-के देख्नुभएको छ भन्ने प्रश्नमा मेरा एक सहकर्मीले तत्काल भनिहाले- 'प्रश्नबाट भाग्न खोज्ने, सीमित मान्छेको घेरामा रहने ।'

यसबीचमा बालेनको अभिव्यक्तिलाई लिएर पनि पटक-पटक प्रश्न उठेको छ । एकपटक उनले 'सिंहदरबारमा आगो लगाउँछु' भनेर स्टाटस नै लेखेका थिए । यो किसिमको अराजकता राजधानी शहरको मेयरका लागि सुहाउने कुरा होइन । साथै, उनले सिंहदरबार नै सारेर अन्त लैजाऊ भनेर धम्की पनि दिएका थिए, जुन उनको अधिकार क्षेत्रभन्दा बाहिरको अभिव्यक्ति हो ।

सामाजिक सञ्जालमा उनको उपस्थिति भड्काउ खालको रहँदै आएको छ ।

null

,अंकमा बालेनको कार्यकाल मूल्यांकन

बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा कार्यभार सम्हालेको २ वर्ष पुग्न केही दिनमात्र बाँकी छ । यही सन्दर्भमा मैले चिनजानका केही पत्रकार साथीहरूलाई सोधेँ– 'तपाईं बालेनको अहिलेसम्मको कार्यकाललाई १० पूर्णाङ्कमा कति अंक दिनुहुन्छ ?' साथीहरूको जवाफ सरदरमा ७ आयो, जुन आफैँमा नराम्रोचाहिँ हैन । मेरो आफ्नो मत समेत त्यही हाराहारीमा रहेकाले म उनलाई १० मा ७ अंक दिन चाहन्छु ।

अन्त्यमा, निराशा नै निराशामा डुबेको नेपाली समाजलाई बालेनले थोरै भएपनि खुशीको बहाना दिएको सत्य हो । तर, राजधानीबाहिर र विदेशमा रहेका नेपालीबीच बालेनबारे जति चर्चा छ, त्यति काम भएको चाहिँ मैले देखेको छैन ।

फोहोर व्यवस्थापनको समस्या दीर्घकालीनरूपमा समाधान भएको छैन । बञ्चरेडाँडा आसपासका बासिन्दाले फेरि कुनै दिन आफ्ना मागहरू राखेर आन्दोलन गरे भने काठमाडौंका सडकमा फोहोरको डुंगुर लाग्ने खतरा यथावत् छ । उनीहरूको माग पूरा नगरिएकाले त्यो दिन छिट्टै नआउला भन्न सकिन्न ।

महानगरभित्रै विभिन्न निकायले मनलाग्दी सडक खनेर महिनौंसम्म कालोपत्रे नगरी नागरिकलाई धूलो खुवाउने समस्या पनि विद्यमान नै छ । मेयरका रूपमा यस्तो समस्या समाधानका लागि बालेनले पर्याप्त पहल गरेको महसुस गर्न पाएको छैन ।

बालेन अहिलेसम्म प्रश्नबाट भागिरहेका छन् । सोसल मिडिया म्यानेजमेन्ट गरेर आफ्नो सकारात्मक प्रचार गराउन सके पनि बालेन निमुखा जनता मात्र होइन, मिडियाकै पनि पहुँचमा छैनन् । जनताको नेता बन्ने हो भने यसरी प्रश्नबाट भागेर सीमित घेरामा रहन हुँदैन भन्ने मेरो सुझाव छ । आफ्नो दुई वर्षे कार्यकालमा बालेनले केही आशा जगाएको पक्कै हो । बाँकी कमजोरीहरू पनि सुधारेर अगाडि बढून् र अबको ३ वर्षपछि फेरि मूल्यांकन गर्दा १० मा कम्तीमा ९ अंक दिन पाइयोस्, बालेनलाई शुभकामना छ ।

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x