
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले दुईवटा मासु पसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनका क्रममा खुसी–बोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै दुई मासु पसललाई १०–१० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
बुटवल पुरानो बसपार्कनजिकैको न्यू मेहेदी र बुटवल १ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको भन्दै १०–१० हजार रुपैयाँ जरिवाना गराएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।
उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बधस्थल बनाएको, खसी–बोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलोपटक १०–१० हजार रुपैयाँ जरिवाना गराएको उनले बताए ।
अनुगमन समितिको बैठकले ती दुई मासु पसललाई व्यवस्थित गर्न सचेत गराउँदै एक हप्ताभित्र व्यवस्थित गर्न र तिनाऊ पुलमुनिबाट पसल अन्यत्र सार्न निर्देशन दिने निर्णय गरेको छ ।
बुटवलमा मासु व्यवसायमा लापरबाही बढ्दै गएको र पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐनअनुसार मासु पसल सञ्चालन हुनुपर्नेमा अटेरी गरिरहेकाले नियमित रुपमा अनुगमन गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले खसी–बोकाको मासु पशु बधशालाबाट ल्याएर बिक्री गर्न आग्रह गर्दै स्वच्छ र स्वस्थ मासु खरिद गर्न उपभोक्तालाई आग्रह गरिन् ।
मासु पसलहरू व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने गरी बधशाला सञ्चालन भइसकेको र बधशालामा बध गरेको मासु मात्रै पसलमा ल्याएर बिक्री गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बताए । बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने व्यवस्था सो ऐनमा छ ।
ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।
पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना नगरेमा कारबाही गर्ने भन्दै बुटवल उपमहानगरले मासु व्यवसायीलाई सचेत गराउँदै आएको छ ।
झण्डै २२ करोड रुपैयाँको लगानीमा बुटवलको धागो कारखानानजिकै निर्माण भएको बधशाला क्षेत्रमा खसी–बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।
यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ ।