
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यवरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने उनको विश्वास छ ।
'प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ', प्रधानमन्त्री प्रचण्डले भने, 'भोलिसम्म सदनको अवरोध हट्ने छ ।'
यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू ढुक्क रहेको बताए । 'विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन', उनले भने ।
सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट निर्माण भइरहेको जानकारी दिँदै उनले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए ।

'सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउने छ', प्रधानमन्त्री प्रचण्डले भने, 'बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेट बोक्नै पर्छ ।'
कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिस्ट विचारहरू एकीकृत हुनुपर्ने बताए ।
'समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिस्ट विचार एक ठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ', प्रधानमन्त्री प्रचण्डले भने, 'कम्युनिस्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।'
प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको आज विमोचन गरेका हुन् ।