२३ जेठ २०८३, शनिबार
अवरुद्ध संसद् खुलाउने प्रयास

प्रचण्ड र ओलीलाई सभामुखले भने- प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्

जेठ ५, २०८१
काठमाडौं
प्रचण्ड र ओलीलाई सभामुखले भने- प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड'लाई भोलि (आइतबार) बिहान ११ बजे अघि नै सहमतिमा पुग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सहमति गरेर निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद् सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।

'प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्', उनले भने, 'म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।'

प्रधानमन्त्रीले विश्वासको मत लिन, नीति तथा कार्यक्रम पास गर्न र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच सम्भव नरहेको उनको भनाइ छ ।

सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने प्रक्रियाको परिकल्पना संविधानले नगरेको उनले बताएका छन् । 'अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद् र जनप्रतिनिधिको महत्त्व घटेर जान्छ', उनले भनेका छन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ । सोही अनुसार कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । 

शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्