२८ जेठ २०८३, बिहीबार
यौन आशक्ति, लुटपाट योजनादेखि हत्यासम्म

प्रहरी जवान हत्या प्रकरण : ‘क्राइम थ्रिलर मुभी’लाई पनि माथ दिने घटना

जेठ ६, २०८१
काठमाडौं
प्रहरी जवान हत्या प्रकरण : ‘क्राइम थ्रिलर मुभी’लाई पनि माथ दिने घटना

भारतीय ‘क्राइम, थ्रिलर मुभी’को झल्को दिने गरी काठमाडौंमा भएको एउटा घटना उजागर भएको छ । शुक्रबार भएको उक्त घटना आइतबार सार्वजनिक भएको हो ।

दरबारमार्गस्थित ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या सम्बन्धमा अनुसन्धानमा खटिएका प्रहरीहरू नै भनिरहेका छन्, घटना फिल्मीजस्तो लाग्छ, तर यथार्थ डरलाग्दो छ । 

सधैँजसो ड्युटी सकेर राति पौने ९ बजेतिर डेरा पुग्ने जवान घिमिरे गत शुक्रबार समयमा पुगेनन् । उनी तारकेश्वर नगरपालिका– ११ मा रहेको भट्टी पसलमा छिरे । त्यहाँ उनले मदिरा पिए । केही बेरमा चिनजानका सचिन परियार एक युवतीसहित भट्टीमा छिरे । युवराजलाई सचिनले अञ्जली श्रेष्ठसँग परिचय गराए । 

सो भेटमा तीनैजना गफिन थाले । त्यतिकैमा युवराजले अञ्जलीलाई आँखा झिम्क्यााए । विवाद शुरू भयो । एकाएक अञ्जलीले पेट दुखेको बहाना गरिन् । युवराजको बाइकमा अञ्जलीलाई उनी बस्ने ठाउँमा पुर्‍याइदिने सल्लाह भयो । त्यतिबेला राति ९ बजिसकेको थियो । युवराजले सचिन र अञ्जलीलाई भट्टीबाट करिब ४ किलोमिटर पर मनमैजुस्थित बासुकी टोलमा निर्माणाधीन घरमा पुर्‍याइदिए ।

त्यतिकैमा सचिनले हेल्मेटले युवराजमाथि अन्धाधुन्ध प्रहार गरे । निर्माणाधीन घरमा सुतेर बसिरहेका विपना/बसुन्धरा भन्ने बसुन्धरा कार्की, बुद्ध लामा तामाङ, दार्जे भन्ने अमृत तामाङ पनि युवराजमाथि जाइलागे । युवराजलाई इँटाको टुक्रा, फलामको रड र नकले शरीरमा प्रकार गरेपछि उनी ढले । 

null

युवराजको पर्सबाट २ हजार झिके । उनी मरेको निश्चित भएपछि शरीरका कपडा, जुत्ता, बेल्ट सबै जलाएर नांगो शरीर घरबाट खसाले । कसैले देख्छ भनेर बोरा र कालो म्याटले युवराजको शव इँटाले छोपेर सचिनलगायत सबै घर छाडेर भागेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले दिए ।

 ​प्रहरीलाई सूचना कहाँबाट आयो ? 

शनिबार बिहान स्थानीय बालबालिका खेल्दै गर्दा युवराजको खुट्टा देखेर तर्सिएका थिए । स्थानीयस्तरमा हल्लीखल्ली मच्चियो । शव देखेको सूचना प्रहरीको कन्ट्रोल रूम १०० मा आयो । 

शुरूमा त प्रहरीले बेबारिसे होला भन्ने हिसाबले सामान्य रूपमा लिएको थियो । युवराज शुक्रबारै रातिबाट घर नफर्किएको र शनिबार बिहानसम्म घर नआएको सूचना पनि थियो । घटनास्थलमा बालाजु वृत्त, जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटियो । 

युवराजको कपडा जलाएको स्थानमा नाम उल्लेख भएको कपडाको टुक्रा फेला पर्‍यो । त्यहाँबाट प्रहरी झन् झस्किए । युवराज शुक्रबार राति ड्युटीबाट फर्किने बेलाको सीसीटीभी फूटेज हेर्दा उनी बाहिरिएको पुष्टि भयो । पाँच वर्षीय छोरा र श्रीमती बस्ने युवराजको कोठामा प्रहरी पुग्यो । उनी शुक्रबार राति घर नआएको पुष्टि भयो । 

यसरी पक्राउ परे सात जना 

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार डेराबाट झण्डै चार किलोमिटरमा रहेको निर्माणाधीन घरमा युवराज कसरी पुगे भन्ने ‘क्लु’ खोज्न थालिएको थियो । 

शनिबार घटनास्थलमा पुगेका प्रहरी टोलीले शुरूमा त्यही निर्माणाधीन घरमा बस्ने १३ वर्षीय किशोरलाई पक्राउ गर्‍यो । डराएका जस्ता देखिने ती किशोरले प्रहरीलाई भनेका थिए– यो सरलाई कसले मार्‍यो भन्ने मलाई सबै थाहा छ । मैले भनेको थाहा पाए भने मलाई मार्छन् ।’

प्रहरीले ‘सबै बताऊ, तिमीलाई केही हुँदैन’ भनेर फकाएपछि उनले सबै रहस्य खोले । उनकै बयानअनुसार प्रहरीले सचिनलाई पक्राउ गर्‍यो ।

बाँकी ५ जनालाई बालाजु बाइपासको जंगलमा लुकेर बसेको अवस्थामा शनिबार राति पक्राउ गरियो ।

प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेको थियो । प्रहरीले सचिन, अञ्जली, एकजना नाबालक सँगै विपना/बसुन्धरा भन्ने बसुन्धरा कार्की, बुद्ध लामा तामाङ, दार्जे भन्ने अमृत तामाङ र नुनमाया कार्कीलाई नियन्त्रणमा लियो । 

null

सचिनको बयानले झस्किए प्रहरी 

बयानमा सचिनले खुलाएका तथ्यले प्रहरी समेत झस्किएका थिए । उनले बयान दिएअनुसार युवराजले अञ्जलीसँग शारीरिक सम्पर्कको प्रस्ताव गरेका थिए । तर, सचिन अरू केटी मिलाइदिने भन्दै कड्किएका थिए । अञ्जलीले पनि प्रहरी बयानमा भनेकी छिन्, मलाई आँखा झिम्क्यायो, त्यही कारण सचिन रिसायो ।

पेट दुख्यो घर पुर्‍याइदेऊभन्दा उल्टै फोहोरी कुरा गर्‍यो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘भट्टीमा अञ्जलीलाई आँखा झिम्क्याएको, उनीहरू बस्ने निर्माणाधीन घरसम्मै पुर्‍याउँदासम्मको घटनाक्रम र युवराजले सचिनलाई राखेको प्रस्ताव हेर्दा उनको हत्या लुटपाटको मात्रै उद्देश्यले भएको देखिँदैन ।’ 

चोरी र लुटपाटबाट चलेको जिन्दगी

पक्राउ परेकामध्येका सचिनको अपराध अभिलेख हेर्दा उनी धादिङ र स्वयम्भूमा भएको चोरी घटनामा समेत संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

उनकाअुनसार सचिनविरुद्ध चोरी र अभद्र व्यवहारमा मुद्दा चलेको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्येका दुई जनाको नुवाकोट, एक जनाको सिन्धुपाल्चोक, दुई जनाको स्याङ्जा र एक जनाको भक्तपुर घर भए पनि उनीहरू लामो समयदेखि घर छाडेर सडक पेटी, निर्माणाधीन घरलगायत स्थानमा बेवारिस अवस्थामा बस्दै आएका थिए ।

‘युवती देखाएर युवालाई मायाजालमा पार्ने र अन्तिम उद्देश्य लुटपाट गरेर भाग्ने ट्रेन्ड विगतका केही घटनाले देखाएको थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘युवराजको हत्यामा पनि विगतका केही कुरा मेल खान्छ । पर्सबाट पैसा चोर्नु, अञ्जलीलाई जिस्काएको निहुँमा भनाभन पर्नु र प्रमाण मेटाउने चक्करमा युवराजको शव नाँगै पारेर कपडा जलाउनु मा सामान्य बुद्धि मात्र होइन भन्ने देखिन्छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्