०५ असार २०८३, शुक्रबार

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

जेठ ६, २०८१
काठमाडौं
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)  कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम  चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ । 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आज ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा सो जानकारी दिँदै योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गरे । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास  प्रयासमा सँगै संलग्न हुनका लागि  चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय  गरिसकिएको जानकारी दिए। अर्काे एक प्रसङ्गमा उनले भने, “नेपाल चीनसँग कनेक्टिभिटी, पूर्वाधार विकास, कृषि, व्यापार, पर्यटन, लगानी, सूचना र सञ्चार प्रविधि तथा जनता जनताबिचको सम्बन्धलगायत महत्त्वपूर्ण क्षेत्रमा फराकिलो र गहिरो सहयोगका लागि प्रतिबद्ध छ ।”

नेपाली व्यापारीहरू चीनमा आफ्नो बजार खोज्न उत्सुक रहेकाले चीनबाट यसमा उच्चस्तरको सहयोग गरिने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबभन्दा ठूलो स्रोत देश चीनको नेपालमा हुने लगानीमा पनि नेपालले आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गरे । 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनले एकापसमा विश्वास र सम्मान गर्ने तथा दुवैले आपसी चासोमा सहयोग गर्ने गरेको बताउँदै नेपालको ठूलो लगानीकर्ता र दोस्रो ठूलो व्यापारिक साझेदार चीनले दुवै देशका १४ नाका खोल्न लागेको जानकारी  दिए । 

कार्यक्रममा नेपाली राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसकी नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, नेकपा (एमाले) विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा विक्रम तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावती, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वराजदूत प्रमेश हमाल, नेकपा (माले) का महासचिव सिपी मैनाली र राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चस्तरका पदाधिकारीहरूबाट दुवै देशका भ्रमणका क्रममा भएका सन्धिसम्झौता एवं समझदारीहरू छिटो कार्यान्वयन गर्न र सम्पन्न गर्न तथा ढिला भएका परियोजना छिटो पूरा गर्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्