१० साउन २०८३, आइतबार
रमाइला किस्सा

कोशीमा फेरि ज्योतिषीको चर्चा : मन्त्री भन्छन्– प्रदेश सरकारको विरोध गर्नेलाई बजेट दिन्नँ

जेठ ७, २०८१
विराटनगर
कोशीमा फेरि ज्योतिषीको चर्चा : मन्त्री भन्छन्– प्रदेश सरकारको विरोध गर्नेलाई बजेट दिन्नँ
भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री गणेश उप्रेती ।

आइतबार दिउँसो कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री गणेश उप्रेती कार्यकक्षमा एक्लै थिए । उनको सचिवालयमा केही सेवाग्राही मन्त्रीलाई भेट्न पालो कुरेर बसिरहेका थिए । सचिवालयका कर्मचारीले बाहिर केही मान्छे पर्खेर बसेका छन् भनेपछि मन्त्रीले भित्र पठाउन निर्देशन दिए । 

पाँच जनाको समूह कार्यकक्षमा पस्यो । केही पत्रकार पनि सँगै मन्त्रीको कार्यकक्षमा छिरे । आफ्नो कार्यकक्षमा आएका सेवाग्राहीलाई मन्त्री उप्रेतीले बस्न आग्रह गरे । आएकाहरूले आ–आफ्नो परिचय दिए । ‘के काम लिएर आउनुभयो ?’ मन्त्रीले सोधे । श्रीशंकराचार्य पीठ साधुटार झापाबाट आएका उनीहरूले केही वर्षदेखि भवन अलपत्र परेकोले बजेट माग्न आएको सुनाए । पाँच वर्षदेखि संस्थाको प्रशासनिक तथा पुस्तकालयको भवन आर्थिक अभावका कारण पूरा हुन नसकेको संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले मन्त्रीलाई बताए । मन्त्रीलाई उनीहरूले ल्याएको निवेदनसहित कागजातसमेत  दिए ।

कागजात हेरेपछि मन्त्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् बजेट पाउन सक्ने भएकाले स्थानीयतहमार्फत् माग्न आग्रह गरे । आएकामध्ये एक जना साधुले पहिला नै त्यो कार्यक्रममार्फत् सहयोग पाएकाले पुनः नदोहोरिने सुनाए । 

त्यसपछि मन्त्रीले आउँदो आवमा बजेट दिन सकिने आश्वासन दिए । उनले झापाको शहरी विकास कार्यालयमा पनि एउटा पत्र दिन आग्रह गरे । बजेट बनाउने बेला आफूलाई पनि फोनमा स्मरण गराउन उनले आग्रह गरे । 

तर, बजेट दिन भने मन्त्रीले एउटा अनौठो सर्त तेर्स्याए । उनले अनौठो सर्त तेर्स्याएपछि  त्यहाँ बसेका सबै अचम्ममा परे । उनको सर्त थियो- बजेट पाएपछि प्रदेशको विरोध गर्न पाइँदैन । ‘आउँदो आवको बजेटमा प्राथमिकतामा राखेर बजेट दिउँला । तर, बजेट पाएपछि प्रदेश संरचना र प्रदेश सरकारको विरोध गर्न पाइँदैन । बजेट माग्न प्रदेश सरकारसँग आउने अनि त्यही प्रदेशको विरोध गर्ने बढ्दो क्रम छ । विरोध गर्ने भए बजेट माग्न आउनुभएन,’ उनले भने । जवाफमा आफूहरूले कुनै पनि सरकार र पार्टीको विरोध नगर्ने र नगरेको बताउँदै उनीहरू कार्यकक्षबाट बाहिरिएका थिए । 

०००

अस्थिर प्रदेशमा मन्त्रीहरू फेरिनासाथ मानिसहरू नयाँनयाँ योजना लिएर आउने गरेका छन् । कोशीमा नयाँ मन्त्रिमण्डल विस्तार भएको एक हप्ता कटेको छ । नयाँ मन्त्रीहरू अहिले मन्त्रालयबारे जानकारी लिइरहेका छन् । १६ महिनाको अवधिमा एउटै मन्त्रालयमा ६ जनासम्म मन्त्री फेरिएपछि कर्मचारीहरू पनि ब्रिफिङ गर्दागर्दै हैरान भइसकेका छन् । 

भौतिक पूर्वाधार र मुख्यमन्त्रीको कार्यालयनजिकै छ । मुख्यमन्त्रीको कार्यालयमा भने केही दिनदेखि कर्मचारीहरूबीच हँस्सीमजाको पात्र बनिरहेका छन् निवर्तमान  मुख्यमन्त्री केदार कार्की । विषय हो कार्यकक्ष सारिएको । पाँच जना मुख्यमन्त्रीले प्रयोग गरेको कार्यकक्ष साँघुरो भएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले कार्यकक्ष सारेका थिए । अहिले त्यही विषय कर्मचारीबीच हँस्सीमजाकको विषय बनेको छ । ‘मुख्यमन्त्री भएलगत्तै एक जना ज्योतिषीले उहाँलाई नक्षत्र नमिलेको भनेर कार्यकक्ष सार्न भन्नुभएको रहेछ,’ एक कर्मचारीले हाँस्दै भने, ‘नयाँ मुख्यमन्त्री आएपछि हामी ती ज्योतिषी खोजिरहेका छौं । सर्वाेच्चको फैसला आएपछि मिल्यो भने हामी पनि हात हेराउन जान्छौं ।’ कोठामा हाँसो फेलियो । सबै गलल हाँसे । 

null

पहिला दोस्रो तलामा मुख्यमन्त्रीको कार्यकक्ष थियो । तर, कार्की मुख्यमन्त्री भएपछि भने तेस्रो तलामा सारिएको थियो । सभा हलअगाडि र प्रमुख सचिवको कार्यकक्षलाई समेत मिलाएर मुख्यमन्त्रीको कार्यकक्ष तथा सचिवालयका लागि कोठा बनाइएको थियो ।  सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत् उक्त कोठा बनाइएको हो । १० लाख रुपैयाँ रकमान्तर गरेर नयाँ कार्यकक्ष बनाइएको  कर्मचारीहरू बताउँछन् । 

कांग्रेसकै सभापति शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने भनेर ज्योतिषीले भनेको पटकपटक चर्चा हुने गरेको छ । केन्द्रीय सरकारमा नयाँ प्रधानमन्त्री हुँदा ती ज्योतिषीको चर्चा हुने गर्छ । यससँगै कोशीमा पनि ज्योतिषीको चर्चा हुन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्