
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने ‘बटमलाइन’ कायमै राखेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले समेत सहकारी प्रकरणमा लामिछाने संलग्न रहेको पुष्टि हुँदै गएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान दोहोर्याएको हो ।
'बचत हिनामिना र ठगी भएको छ । ठगी गर्ने काममा माननीय गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रस्ट भएको छ,' बैठकपछि कांग्रेस सचेतक रमेश लेखकले भने, आजको बैठकले सहकारीको ठगीमा संलग्न रवि लामिछाने र सम्बन्धितलाई कडा कारबाही गर्न संसदीय छानबिन समिति गठनको पूर्ववर्ती निर्णयमा दृढ छौँ ।'
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर पत्रकारहरूले सोधेको प्रश्नमा लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन अनुरोध गरे ।
उनले आइतबारको प्रतिनिधिसभामा बैठकमा गृहमन्त्री असभ्य रूपमा प्रस्तुत भएको निष्कर्ष निकालिएको जानकारी दिए । हिजोको संसद् बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको लेखकले बताए ।
लेखकले गृहमन्त्रीले प्रश्न सोध्ने नभएर आफूमाथिका प्रश्नको जवाफ दिनुपर्ने बताए । त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।
रविले कांग्रेसबारे उठाएका विषयमा छानबिन गरेर पुष्टि गर्न उनले चुनौती दिए ।