
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मतमा विश्व रेकर्ड कायम गरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा चौथोपटक विश्वासको मत लिएर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले चौथोपटक पाएको विश्वासको मतले विश्व रेकर्ड बनेको बताएका हुन् ।
आवश्यक पर्दा अझै १०/१२ पटक विश्वासको मत लिन सक्ने उनले बताए ।
प्रधानमन्त्रीज्यू अब कतिपटक लिनु पर्ला विश्वासको मत भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने– ‘नेपालको मात्रै होइन विश्वमै रेकर्ड बनेको छ । जरुरी पर्यो भने १०/१२ वटा विश्वासको मत लिन्छु ।’
१६ महिनामा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत पाएका हुन् ।
२०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिँदा प्रचण्डले २७० मध्ये २६८ जनाको समर्थन पाएका थिए । पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले कांग्रेस, एमालेसहितका ठूला दलको समर्थन पाएका थिए ।
एमाले सरकारबाट बाहिरिएपछि २०७९ चैत ६ गते दोस्रोपटक प्रचण्डले विश्वासको मत लिएका थिए । दोस्रोपटक १७२ सांसदको समर्थन प्रधानमन्त्रीले पाएका थिए । दोस्रोपटक एमालेसहितको ८९ मत प्रचण्डको विपक्षमा परेको थियो ।
गत फागुन २१ मा कांग्रेस सरकारबाट बाहिरिने र एमाले भित्रिने भएपछि प्रधानमन्त्रीले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए ।
तेस्रोपटक प्रचण्डले १५७ सांसदको समर्थन पाएका थिए । तेस्रोपटक कांग्रेससहित विपक्षमा ११० मत परेको थियो ।
जसपा नेपाल विभाजन भएपछि सोमबार नेपाली कांग्रेसको अवरोधका बीच प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा चौथोपटक विश्वासको मतका रुपमा १५७ जना सांसदको समर्थन पाएका हुन् ।
तर कांग्रेसले विश्वासको मत लिने प्रक्रियामा लफडा गरेको भन्दै यसको मूल्य चुकाउनुपर्ने चुनौती पनि दिएका छन् ।
‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईँहरूलई पटक-पटक साथ दियो । योपटक पनि संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ । तर विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’, प्रधानमन्त्रीले भने, ‘यसको निम्ति गहिरो दुःख व्यक्त गर्दछु । कांग्रेसको लागि यसको मूल्य चर्को पर्नेछ । कांग्रेसको लागि यो कलंकको रुपमा स्थापित हुनेछ ।’
विश्वासको मत लिएर बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा प्रचण्डले आगामी चुनावमा कांग्रेसलाई चर्को पर्ने चेतावनी दिएका हुन् ।
‘कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हो आउँदो चुनावमा देखिन्छ’ सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने ।