
पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
गर्मीका कारण दैनिक काम गर्न र हिँडडुल गर्न कठिन भएको छ । धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ ।
गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कूले बालबालिका बढी प्रभावित भएका छन् । गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको छ ।
'गर्मी बढेसँगै दिनमा १०/१२ पटक विद्युत् आउने-जाने भइरहेको छ, विद्युत् गएपछि पङ्खा चलाउन नपाउँदा झन् गाह्रो हुन्छ', धनगढीका स्थानीय भूमिराज अवस्थीले भने ।
गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पतालका डा प्रदीप मिश्रले जानकारी दिए ।
मध्यान्हमा तातो हावा चल्ने गरेकाले यसबाट बालबालिकालाई जोगाउन र झोलिलो खानेकुरा खुवाएर शरीरमा तरल पदार्थको मात्रा बढाउन डा मिश्रले सल्लाह दिए ।
मौसमअनुसार सागपात र फलफूल सेवन गर्ने, सडेगलेको, बासी र जथाभावी राखिएका खानेकुरा नखान पनि चिकित्सकको सुझाव छ ।