१६ असार २०८३, मंगलबार
आठ जना पक्राउ

पशुपतिनाथको भेटीमा कोषाध्यक्षकै गिद्धे नजर !

पक्राउ परेका आरोपीले भने– कोषाध्यक्षले नै भेटी चोर्न लगाए
जेठ ८, २०८१
काठमाडौं
पशुपतिनाथको भेटीमा कोषाध्यक्षकै गिद्धे नजर !

पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नाम पोलेका छन् । सुवेदीकै इसारामा आफूले भेटी चोरी गरेको बयान पक्राउ परेका मध्येका अनिल परियारले दिएका हुन् ।

पशुपतिमा भेटी चोरिरहेको अवस्थामा कोषका सात जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो । कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको सूचना प्रहरीसम्म पुगेको थियो ।

कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको डीएसपी केशवराज थेबेले जानकारी दिए ।  थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी छन् ।

कोषले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभी निगरानीमा राखिएको थियो । पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुँदै आएको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

कोषका कोषाध्यक्ष सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई भेटी संकलनमा खटाएको पाइएको छ । वृत्तका प्रमुख डीएसपी थेबेले सोधपुछका क्रममा परियारले कोषाध्यक्ष सुवेदीको निर्देशनमा भेटी चोरी गरेको बयान दिए पनि प्रमाण नहुँदा सोधपुछकै क्रममा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्