
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल एकै दिनमा टुङ्ग्याइने भएको छ । त्यसका लागि जेठ ११ गतेको समय तोकिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जेठ ११ गते एकैदिन छलफल र प्रधानमन्त्रीले जवाफ दिने गरी दिन तोकिएको जानकारी दिएका हुन् ।
मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रमको प्रति संसद्मा टेबल गरेका थिए ।
नेपाली कांग्रेसको नाराबाजी र अवरोधबीच प्रधानमन्त्री प्रचण्ड संसद्को रोष्ट्रममा पुगेर सरकारको नीति तथा कार्यक्रम टेबल गरेका थिए ।
कांग्रेसले अवरोध गर्ने भएपछि एकैदिनमा छलफल गरेर नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
सहकारी ठगी सम्बन्धमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन नहुँदासम्म बैठक चल्न नदिने कांग्रेसले बताउँदै आएको छ ।
सामान्यतया सरकारका नीति तथा कार्यक्रममाथिको छलफल तीन दिनदेखि ५ दिनसम्म चल्ने गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्मा सरकारका नीति तथा कार्यक्रम पेश गरेका थिए ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।
त्यसअघि संसद्बाट नीति तथा कार्यक्रम पारित हुन्छ ।