
दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चार दिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा १ हजार १ सय ९५ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ काठमाडौं वेस्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड-सोलुसन फाउन्डेसन स्विट्जरल्यान्डले प्रायोजन गरेको थियो ।
शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँच जनाको टोलीसँगै एक जना वरिष्ठ एनेस्थेसिस्ट र पाँच जना नर्सले सेवा प्रवाह गरेका थिए ।
नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका बताए ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए ।
शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिए ।