काठमाडौँ, १ कात्तिक- प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ, नयाँ पत्रिकामा खबर छ ।

‘मन्त्रीज्यूहरूलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ,’ मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’ राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ ।
मुख्यसचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीतर्फबाट सरकारमा सहभागी मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुन सक्नेछन् ।
उनले विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषद्मा छलफल हुने एजेन्डा पठाइने बताए । ‘उहाँहरूको कुनै मन्त्रालय नहुने मात्र हो, बाँकी मन्त्रीको रूपमा पाउने सुविधा सबै पाइराख्नुहुन्छ,’ मुख्यसचिव क्षेत्रीले भने ।