
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् ।
पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पु¥याउन सहज भएको छ ।
विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताए ।
पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए ।