
आर्थिक वर्ष २०७९/०८० मा कुल ९५ अर्ब ६० करोड २१ लाख बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
महालेखाले आज सरकारी कार्यालयहरूको बेरुजुको विवरण सार्वजनिक गर्दै संघ, प्रदेश र स्थानीय तहमा रहेका बेरुजुको बारेमा अवगत गराएको हो ।
महालेखापरीक्षक डा. तोयम रायाका अनुसार संघमा ४६ अर्ब ५३ करोड ६२ लाख, प्रदेशमा ६ अर्ब ५६ करोड ८९ लाख र स्थानीय तहमा ३१ अर्ब १ करोड ५२ लाख बेरुजु भेटिएको हो ।
त्यस्तै विभिन्न संघसंस्थाका १० अर्ब ६४ करोड १८ लाख बेरुजु रहेको महालेखाले जनाएको छ ।
महालेखाले प्रतिवेदनलाई अन्तिमरुप दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेको छ ।
महालेखाको प्रतिवेदनअनुसार झापाको मेचीनगर, सप्तरीको विश्नुपुर, सिरहाको बरियारपट्टि, सर्लाहीको कविलासी, बाराको सिम्रौनगढ, हुम्लाको चम्खेली र अदानचुलीसहित ७ स्थानीय तह लेखापरीक्षणमा सहभागी बनेका छैनन् ।
ती स्थानीय तहले 'पछि हामी बोलाउछौं' भनेपछि लेखापरीक्षण गर्न गएको टोली फर्किएको थियो ।