३२ असार २०८३, बिहीबार

तारकेश्वरको विद्यालयमा बुधबार मौलिक पहिचानको पोसाक अनिवार्य

जेठ १४, २०८१
नुवाकोट
तारकेश्वरको विद्यालयमा बुधबार मौलिक पहिचानको पोसाक अनिवार्य

 नुवाकोटको तारकेश्वर गाउँपालिकाकाले आफ्नो गाउँपालिकाभित्रका विद्यालयमा हरेक बुधबार जातीय मौलिक पहिचानसहितको पोसाक लगाउनुपर्ने प्राबधानलाई कार्यान्वयनमा ल्याएको छ । 

विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले बुधबार आ–आफ्नो जातीय पहिचान अनुसारको पोसाक लगाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनका अनुसार सम्पूर्ण जातजाति (समुदाय)को पहिचान र संस्कृतिको संरक्षणका लागी गाउँपालिकाले अभियानका रुपमा परम्परागत जातीय पोसाकको संरक्षणअन्तर्गत सातामा एक दिन बुधबार जातीय पहिचानसहितको पोसाक अनिवार्य गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको तारकेश्वरमा विशेष गरेर चाडपर्व र मेला जात्रामा मात्र जातीय पोसाकको प्रयोग हुने गरेपछि संरक्षणका लागि गाउँपालिकाले विद्यालयस्तरमा जातीय पहिचानसहितको पोसाक कार्यान्वयनमा ल्याएको हो ।

गत फागुन १४ मा बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ मा बसेको पालिकाभित्रका प्रधानाध्यापकहरुको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोसाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो ।सोही निर्णयका आधारमा गाउँपालिकाको अध्यक्षको निर्देशनपश्चात् विद्यालयको शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीहरुले साताको बुधबार आ–आफ्नो पोसाकमा सजिएर पढ्न र पढाउन सुरु गरिएको हो ।

गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणका लागि जातीय मौलिक पहिचानका कपडा बुन्ने, बाँसका चोयाबाट डोका–थुन्से बुन्ने, ढिकी, जाँतो र घट्ट बनाउने तालिम दिने र ती सामग्रीको प्रयोगका लागि विशेष अनुदान समेत उपलब्ध गराउने नीति अवलम्बन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्