
काठमाडौं, १ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका लागि अमेरिकीहरू भरमग्दुर प्रयास गरिरहेका छन् ।

यसैबीच अमेरिकी पत्रिका हस्लरका संस्थापक ल्यारी फ्लिन्टले ट्रम्पमाथि महाअभियोग लगाउनका लागि प्रमाण जुटाउने व्यक्तिलाई एक अर्ब रुपैयाँभन्दा बढी रकमको पुरस्कार दिने घोषणा गरेका छन् ।
आइतवार द वाशिङटन पोस्टमा यो विज्ञापन छापिएको थियो । विज्ञापन छापिएपछि ल्यारी फ्लिन्टको ट्विटर ट्रेन्ड बढेर गएको थियो ।

कुनै अमेरिकी राष्ट्रपतिलाई हटाउनका लागि विज्ञापन गरिएको यो पहिलो अवसर हो ।
रुसी एजेन्टहरूको सहायता लिएर ट्रम्पले चुनाव जितेको हुनाले उनलाई महाअभियोग लगाउनुपर्ने फ्लिन्टले तर्क गरेका छन् । नेताहरूका विरुद्ध सूचना चुहाउने व्यक्तिलाई पुरस्कारको घोषणा यसअघि पनि आफूले गरिसकेको बताउँदै फ्लिन्टले ट्रम्प एक शक्तिशाली देश चलाउनका लागि सर्वथा अयोग्य व्यक्ति भएको बताए ।
हुन त राष्ट्रपतिमाथि महाअभियोग लगाउँदा निकै गडबड हुन्छ र ट्रम्पले आगामी तीन वर्ष शासन गरे भने त्यसभन्दा बढी क्षति पुग्छ, फ्लिन्टले भने ।
फ्लिन्टले सन् २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई समर्थन गरेका थिए ।
एजेन्सी