
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारण गएराति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै लामो दुरीमा हिँडेका सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने कार्य भइरहेको उनले बताए । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए ।
यसैगरी गैडाकोटको थुम्सिमा पनि पहिरो गएको छ । दाउन्ने सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खसेको र अवरोध हटाउने काम भैरहेको उनले बताए ।