
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।
मधेश सरकार, समसामयिक राजनीतिक विषयसहितका छलफलका लागि देउवाले बुधबार आफ्नै निवास बूढानीलकण्ठमा बसेको बैठकमा नेता नेपाल पनि सहभागी भएपछि राजनीतिले नयाँ मोड लिने संकेत देखिएको छ ।
बैठकमा कांग्रेस सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए ।
बैठकमा समसामयिक राजनीति र मधेश सरकारबारे छलफल भएको लोसपाका नेता शरदसिंह भण्डारीले लोकान्तरलाई जानकारी दिए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेश सरकारका बारेमा पार्टीमा निर्णय गरेर टुङ्गो दिने आश्वासन दिएको उनले बताए ।
‘बैककमा बजेटका बारे छलफल भयो । सहकारी प्रकरणमा गठन भएको छानबिन समितिको विषयमा पनि हामीले छलफल गरियो । हामीले विपक्षी गठबन्धनलाई बलियो बनाएर अगाडि बढ्ने सहमति पनि गरेका छौं,’ उनले भने, ‘हाम्रो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो । उहाँसँगको मुख्य छलफल मधेश सरकारमा केन्द्रित रहेर भएको थियो । उहाँले मधेश सरकारको बारेमा पार्टीमा निर्णय गरेर टुङ्गो दिन्छु भन्नुभएको छ ।’
मधेशमा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत लिएका छैनन् ।
संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।
मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । यस्तै कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यसका लागि एकीकृत समाजवादीको पनि सहमति चाहिन्छ । यसैका लागि देउवाले सत्तारुढ दलका अध्यक्ष नेपाललाई विपक्षीको बैठकमा सामेल गराएका हुन् ।
अर्कोतिर नेता नेपाल सत्तापक्षमा रहे पनि असन्तुष्ट रहेको बताइएको छ । यसैको फाइदा प्रतिपक्षीले उठाउने विश्लेषण गरिएको छ ।
यतिमात्र होइन राजनीतिमा नयाँ सशक्त गठबन्धन उदाउने संकेत पनि मिलेको छ ।