
जेनेभा - यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसङ्घीय एजेन्सीले बुधबार जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यस वर्ष पाँच दशमलव दुई प्रतिशत हुने पूर्वानुमानपछि आएको हो ।
राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर चार दशमलव नौ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यद्यपि आईएलओले चेतावनी दिँदै भनेको छ, 'श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा प्रभावित छन् ।'
महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ ।
उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो ।
महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू कार्यरत रहेको उल्लेख छ ।