
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादी संस्कृतिले खडा गरेको रुढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रुपान्तरण आवश्यक रहेको बताए ।
‘संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,’ उनले भने, ‘जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।’
जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रुपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रुपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए । उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए ।
‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,’ उनले भने, ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।’ उनले सामन्तवादी संस्कृतिले खडा गरेका रुढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरुद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए ।
‘असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, बास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रुपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,’ उनले भने, ‘यस दिशामा जनसांस्कृतिक महासङ्घ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।’
आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरुरी रहेको बताए ।
प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धीहरू आम जनसमुदायसम्म पुर्याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिएपनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताए । सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धिहरू आम जनसमुदायसम्म पुर्याइ परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरे ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताए ।