
नदी छेउमा डम्पिङ गरेर राखिएको २५ टन प्लास्टिजन्य फोहोर सुनकोशीमा मिसनबाट जोगाइएको छ।
क्याप परियोजना अन्तर्गत क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोर नदीमा मिसिनबाट रोकेको हो ।
शुक्रबार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा डम्पिङ साइटको रूपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोर संकलन गरिएको हो ।
क्याप परियोजनाअन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियानले परिचालन गरेको युवा स्वयं सेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवाला अभियानमा सहभागी थिए ।
‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया)को एक प्रमुख आयोजनाको रूपमा रहेको छ भने यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप)द्वारा लागू गरिएको हो ।
सरसफाइ अभियानमा प्रमुख अतिथिको रूपमा सहभागी भएका गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले पालिकाले गर्नुपर्ने काम क्रिएसनले गरेमा खुशी व्यक्त गरे ।

उनले बढ्दो शहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको चिन्ता व्यक्त गरे ।
क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्त्वलाई जोड दिए ।
'हामीले प्रकृति संरक्षणजस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नुहुँदैन । यो प्रतिबद्धता हामी सबैलाई भित्रबाट आउनु पर्छ,' उनले भने ।
क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार कम्तीमा १२ वटा नदी सरसफाइ गर्ने योजनाअनुसार काम भइरहेको छ ।
परियोजना सन्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकेको उनले जानकारी दिए ।
गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुई वटा ट्रिपर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्यान्डफिल्ड साइटमा उक्त फोहोर स्थानान्तरण गरिएको छ ।
