
यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका- १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा छन् ।
सशस्त्र प्रहरी जवान तिलक बढुवालका अनुसार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उनीहरूलाई उपचारका लागि मुगु गाउँ ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार अर्का एक जना सिकिस्त बिरामी भएका छन् ।
सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ लगिएको छ ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।
मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।