
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकहरूलाई सेवाका लागि थप सहज हुने बताएका छन् ।
मधेस प्रदेश राजधानी जनकपुरधाममा आज सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन गर्दै कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे। “कार्यालय स्थापनाले स्थानीय सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरेका छौँ । अब सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ ? योगदान गर्दा कस्तो लाभ पाउन सकिन्छ ? भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीको भूमिका महत्वपूर्ण छ । योजनामा ढुक्कसँग सहभागी हुन म सेवाग्राहीलाई आग्रह गर्दछु”, मन्त्री अर्यालले भने ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यालयबाट धनुषा, सप्तरी, सिराहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकहरूलाई सेवा लिन सहज हुने बताए । उनले चार जिल्लाबाहेक अन्य ठाउँका व्यक्तिले पनि लाभ लिनसक्ने जानकारी दिए ।