
दीर्घकालीन रूपमा वैदेशिक रोजगार अन्त्य गर्ने उद्देश्यसहित बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ ।
बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको हो ।
संघ, प्रदेश सरकार र स्थानीय बुटवल उपमहानगरपालिकाले संयुक्त रूपमा आयोजना गरिएको मेलामा ४० वटामा स्टलमा औद्योगिक प्रतिष्ठानहरूले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यालय प्रमुख कृष्ण खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण पनि गरिने बताए ।
‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरू र रोजगारीका अवसरबारे प्यानल डिस्कसनहरू हुनेछन्,’ खनालले भने, ‘मेलामा ४० वटा स्टल हुनेछन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा हुनेछन् ।’
मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुनेछ ।
त्यस्तै सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरूको आवश्यकता सम्बन्धी अन्तरक्रिया, कार्यक्रम पनि गरिने छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
विकासोन्मुख देशहरूले जस्तै नेपालले पनि रोजगारीको क्षेत्रमा विशेष गरी युवा बेरोजगारीका चुनौतीको सामना गरिरहेको छ ।
नेपालको ३० वर्षभन्दा मुनीको जनसंख्याको ६३.७ प्रतिशत छ । हरेक वर्ष ४० लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने गर्छन् ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै सरकारले सातै प्रदेशमा समाधान रोजगार मेला आयोजना गरेको हो ।
श्रमाधान रोजगार मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा अघि बढ्ने मेयर पाण्डेयले बताए ।
देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।