०४ असार २०८३, बिहीबार

तिहारको मुखमा केरामा कडा विषादी, खाँदा ज्यानै जाला !

कात्तिक २०, २०७४
तिहारको मुखमा केरामा कडा विषादी, खाँदा ज्यानै जाला !

काभ्रे, २ कार्तिक– चाडपर्व नजिकिँदै गर्दा काभ्रेको बजारमा फलफूलको माग अत्याधिक बढेको छ । माग अनुसार उत्पादन नहुँदा व्यापारीहरुले कडा विषादी प्रयोग गरि फलफूल पकाउने गरेका छन् । जिल्लामा यतिखेर विशेष गरी केरा पकाउन ब्यपारीले कडा बिषादीको प्रयोग गरेको भेटिएको छ ।

व्यापारीहरुले फलफूल पकाउन जथाभावी कडा बिषादीको प्रयोग गर्दा उपभोक्ता भने फलफूलसँगै विष सेवन गर्न बाध्य छन् । उपभोक्ताहरुको स्वास्थ्यप्रति खेलवाड गर्दै व्यापारीहरुले फलफूल पकाउनका लागि खुलेआम बिषादी प्रयोग गर्दै आए पनि स्थानीय प्रशासन भने बेखबर जस्तै देखिएको छ ।
जिल्लाको बनेपा, पनौती र धुलिखेल लगायतका स्थानमा रहेका आधा दर्जन फलफूल गोदाम र तीन दर्जन बढी साना फलफूल व्यवसायीले खुलेयाम बिषादी प्रयोग गरेर केरा लगायतका फलफूल पकाउँदै आएका छन् । व्यापारीहरुले केरा पकाउन ईथोपोन ३९ एसएलको क्रीपोन नामक बिषादी प्रयोग गरिरहेका छन् ।

अहिले काभ्रेका अधिकांश फलफूल व्यापारीले सोही बिषादी प्रयोग गरेर केरा पकाउने गर्छन् । भट्टिमा राखेर केरा पकाउदा पाँच गुणा बढि महगो पर्ने, काँचो फलफूल पाक्न ५ दिन भन्दा बढि समय लाग्ने, बढि स्थानको आवश्यकता पर्ने र धेरै परिमाणमा पकाउनु पर्ने भएकाले आफूहरुले बाध्य भएर बिषादी प्रयोग गर्दै आएको एक फलफूल व्यवसायीले बताए । सो बिषादीमा खतराको निलो रंङ्ग देखाइएको छ । जुन तेस्रो कडा बिषादीहरुको सुचीमा रहेको छ ।

ब्यपारीले सो बिषादी ड्रममा रहेको पानीमा मिसाउँछन् । नेपालमा उक्त विषाधी नपाउने भए पनि व्यापारीहरुले भारतबाट उक्त विषादी लुकाइ छिपाइ ल्याउने गरेको पाइन्छ । काँचो केरालाई उक्त विषादीमा भिजाएर कागजले बेरेर राखिन्छ । त्यस्तो केरा २४ घण्टा भन्दा पहिले नै पाक्ने गर्छ । अहिले बजारभरी नै बिषादी प्रयोग गरेर पाकाईको केरा बेरोकटोक बिक्री भइरहेको छ ।

बिषादीयुक्त फलफूल सेवन गर्दा विभिन्न खाले एलर्जी, अल्सर, हैजा, रगतको हेमोग्लोबिन नष्ट हुने, आखाँको दृष्टि कमजोर हुने, कोषको बृद्धि बिकासमा असर पुग्ने, पेटको समस्या, रक्तचाप घटाउने, स्नायु प्रणालीलाई असर पुर्याउने र छालाको क्यान्सर लगायतका समस्या आउन सक्ने चिकित्सकहरुको भनाइ छ । अहिले काभ्रेको बजारमा केरा १ सयदेखि १ सय ५० रुपैयाँ दर्जनका दरले बिक्री भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले यस बिषयमा कतैबाट गुनासो नआएको बताए । बजार अनुगमन गर्दा फलफूल केरा र स्याउमा प्रशासनको त्यती ध्यान नपुगेको आभाष उनको भनाइ छ । प्रशासनले तुरुन्त अनुगमन गरी यस्तो कार्य रोक्ने र विषादी उपयोग गर्ने व्ययापारीलाई कारबाही गरिने शिंखडाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्