०१ असार २०८३, सोमबार
डुंगा खियाउनेको अवस्था

फेवातालमा पालोको पर्खाइः सिजनमा राम्रै कमाइ, अफसिजनमा गाह्रो

जेठ २६, २०८१
पाेखरा
फेवातालमा पालोको पर्खाइः सिजनमा राम्रै कमाइ, अफसिजनमा गाह्रो
प्रेमबहादुर भुजेल र सबिन लामा ।

जेठको टन्टलापुर घाममा फेवाताल छेउमा बसेर कसैलाई पर्खिरहेका थिए प्रेमबहादुर भुजेल । डुंगामा बसेर आफ्नो पालो कुर्दै थिए । उनको एउटै थियो– कतिबेला डुंगा खियाउने पालो आउँछ र एकदिनको गर्जो टर्छ । प्रेमले यसरी बाराहीघाटमा पर्यटक कुर्दै फेवातालमा डुंगा खियाउन थालेको १६ वर्ष बितेको छ ।

सिन्धुली घर भएका प्रेम जागिरको सिलसिलामा पोखरा आएका थिए । ६३ वर्षीय प्रेमको मानसपटमा कुन सालमा पोखरा आए भन्ने याद धुमिल बन्दै गएको छ । त्यो बेला प्रेम स–साना काम गरेर गाउँघरतिरै बसिरहेका थिए ।  एकजना आफन्तको फेवातालमा डुंगा व्यवसाय रहेछ । छाक टार्ने जोहो खोजिरहेका प्रेमले तिनैसँग पोखरा जाने निधो गरे । ती आफन्तले डुंगाको चालकको काम जुराइदिए ।

null

‘यहाँ आएपछि तीन दिनमै डुंगा चलाउन सिकेको हुँ । मलाई ल्याउने आफन्तकै डुंगा चलाइरहेको छु । यसअघि कोशी नदीमा पनि अलिअलि चलाइन्थ्यो । यहाँ आएपछि पूरै सिकेँ,’ उनले सुनाए । 

अहिले त प्रेमको सबथोक नै डुंगा भएको छ । उनले डुंगा खियाएरै दुई छोरा र तीन छोरी हुर्काए । तीन छोरीको बिहेवारी भइसक्यो । दुई छोरा काठमाडौंमा मिस्त्री काम गर्छन् । ‘बिरामी भएका कारण आजकल श्रीमती पनि काठमाडौं बस्छिन्,’ उनले भने ।  

उमेर ढल्किएसँगै प्रेमको अवस्था पहिलेजस्तो मजबुत छैन । तैपनि सकेको गरिरहेका छन् । बाराहीघाटमा पालो कुर्नुपर्ने प्रणाली भएका कारण काम सधैँ पाउने अवस्था नभएको उनले बताए ।  

‘मेरा लागि डुंगा चलाउनु सामान्य नै हो । यद्यपि, बिस्तारै बूढेशकालले छुँदै गइरहेको छ । डुंगा फर्काउँदा छाती दुख्न थालेको छ । लाइनमा बस्नुपर्छ, यस्तो क्यूमा बस्दा कहिले काम पाइन्छ, कहिले पाइँदैन । जे भएपनि डुंगा चलाएरै खानुपर्ने बाध्यता छ’ उनी भन्छन् । 

सिजनको समयमा प्रेमले दिनमा १५ सयसम्म कमाइ हुन्छ । पर्यटक कम भएको  बेलामा दिनमा सात सय जति आम्दानी हुन्छ ।
‘म आजकल नयाँ केटाहरूजति खट्न सक्तिन । दैनिक आठ ट्रिप जति हान्न सक्छु । भएको बेला १५ सयसम्म कमाउँछु,’ उनले थपे ।    

उमेर बढ्दै गएपनि तत्कालै डुंगा चलाउन छोड्ने सोच प्रेममा छैन । त्यसो त उनीसँग अब अरु काम गर्ने पनि विकल्प छैन । ‘दुई–चार पैसा कमाइ भइरहेको छ । त्यसैले अहिले नै यो काम छोड्ने पक्षमा छैन । उता गाउँतिर पनि काम पाइन्न । त्यसै बस्नुभन्दा यही कसेर कमाउन पाए खाने बाटो त हुन्छ,’ उनी भन्छन् । 

मकवानपुरबाट पोखरा आएका हुन् सबिन लामा । रोजगार खोज्न पोखरा आएका यिनले फेवातालमा डुंगा खियाउने काम पाए । आजभोलि उनको दैनिकी यसैगरी बितिरहेको छ । 

null

‘गाउँमा रोजगारी थिएन । जागिर खोज्दै पोखरा आएँ, अनि डुंगा चलाउने ठाउँमा ठोक्किएँ । अहिलेबाट गुजारा भइरहेको छ,’ उनी भन्छन् । 

फेवातालमा ७०० भन्दा बढी डुंगा छन् । बाराहीघाटका व्यवसायीसँग ३५६ वटा डुंगा छन् । क्यू सिस्टम भएकाले कहिले पालो नपाउने पनि हुन्छ । तर, अरुको पालोमा पनि जान पाइने अवस्था भने छ । यसले सहज बनाएको सबिन बताउँछन् ।  

‘३५६ वटा डुंगामा सबैले १–१ राउन्ड चलाउँदा पनि हप्तामा मात्र २ दिन मात्र पालो आउँछ । तर सबैजना आउँदैछन् । यस्तोमा अरुको पालोमा पनि चलाउन पाइन्छ,’ उनले भने ।

null 

पहिलेको तुलनामा डुंगा चलाउनेको आम्दानी बढेको छ । आम्दानीसँगै महंगी पनि बढेको सबिन बताउँछन् । पोखरा आउने पर्यटक कोरोना महामारीपछि घटेका छन् । यसको असर डुंगा चालकलाई समेत परेको पाइएको छ ।  

‘कोरोनापछि एकपटक विदेशी पर्यटक आउने क्रममा घटेको थियो । त्यो बेला हामीलाई सामान्य हातमुख जोर्ने मुस्किल थियो । पोहोरदेखि पर्यटक अलि बढेका छन् । अहिले मासिक १५–२० हजार कमाइ हुन्छ,’ उनले थपे, ‘आउँदो वर्षमा झन् बढ्छन् कि भन्ने आशा छ ।’

तीनवर्ष भयो स्याङ्जा टक्सारका धनबहादुर परियारले फेवातालमा डुंगा चलाउन थालेको । विदेश गएर आएपछि उनले फेवातालमै काम गरिरहेका छन् । उनले पनि यही दैनिकीबाट परिवार पालिरहेका छन् ।

null

सिजनमा कमाइ भएपनि अफसिजनमा भने गाह्रो अवस्था रहेको उनले सुनाए । भाडाको चलाउनेलाई भन्दा आफ्नै डुंगा हुनेलाई सहज अवस्था रहेको उनको भनाइ छ । 

‘मान्छे धेरै आए भने आम्दानी पनि राम्रो हुन्छ । दिनमा पाँच–सात ट्रिप हानिन्छ । त्यो पनि आफ्नो डुंगा हुनेलाई त ठीकै हो । नहुनेलाई त गाह्रो हुन्छ अफसिजनमा,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्